आर्थिक समृद्धिको लागि कृषि

तीर्थवहादुर कार्की

असार १७ बुधवार, २०७७
खोटाङ । हामी नेपालीहरु विभिन्न पेशा अनि नोकरी गरेर जीवनयापन गरि रहेका छौं । समग्रमा हेर्ने हो भने हामी नेपाली विशेष गरेर आफ्नो पेसा भन्दा पनि नोकरी तिरै बढी लाभान्भित हुने गरेका छौं । हामीलाई हाम्रा अग्रजहरुले पनि सानैदेखि जागिर प्रति नै लाग्नु भन्ने खालका सन्देशहरु दिनुहुने भएकोले पनि व्यावसायभन्दा जागिर तिरै ध्यान गएको भनेर अनुमान गर्न सकिन्छ ।

प्रत्येक ठाउँको हावा पानी र माटो अनुसार हरेक व्यावसाय र पेसा अङ्गाल्नुपर्ने हुन्छ । कुनैपनि व्यावसाय तथा पेसा त्यहाँको हावापानी अनुसार अपनाउन सकियो भने मात्रै हामी त्यसबाट राम्रो लाभ लिन सक्छौ । हाम्रो देश नेपालमा पनि विभिन्न किसिमका हावापानी रहेका ठाउँ छन् । हरेक ठाउँ अनुसार अलगअलग किसिमका खेतीहरु पनि गरेको पाइन्छ । हामी नेपालीको पूर्खेउली पेसा पनि विशेश गरेर कृषि नै हो ।

समय र हावापानी अनुसार उपयुक्त खालको खेती लगाउन तथा पशुपालन लगायत कृषिजन्य व्यावसाय गर्न नसक्दा हामी धेरैजसो यो पेसाबाट घाटा बेहोरी रहेका छौं । नेपालमा रहेको कृषि तथ्यांक अनुसार सन २०१३ मा नेपालको कूल जनसंख्याको  ७१ प्रतिशत अर्थात दुई तिहाई जनसंख्या कृषिमा लागेको पाइन्छ ।

त्यस्तै २०१८ को तथ्यांक हेर्दा कृषि पेशामा लाग्ने सङ्ख्या ६ प्रतिशतले घटेर ६५ प्रतिशत मात्र जनसङ्ख्याले कृषि पेसा अपनाएको देखिन्छ । यी सबै कुरालाई हेर्दा के अनुमान गर्न सकिन्छ भने विस्तारै कृषि पेसा छाड्नेहरुको सङ्ख्या दिनानुदिन घटेर केही प्रतिशतमा सिमित हुनेछ ।

यसरी कृषि पेसा गर्नेहरुको सङ्ख्या घट्दै जानू भनेको नेपालको लागि दुर्भाग्य हो । भोलिका दिनमा हामी नेपालीहरुमा भोकमरीको समस्या वनेर जानेछ । हामी नेपालीहरु आर्थिक हिसावले समृद्धि हुने भनेको एउटा मात्र प्रमुख पाटो भनेको कृषि नै हो ।

हामीले कृषि क्षेत्रबाट फाइदा कमाउन तथा आर्थिक हिसावले समृद्व बन्नको लागि आधुनिक कृषि पेसा अपनाउनु आवश्यक छ । कृषि पेसामा लाग्नेहरुको सम्मान नहुनु, किसानले उत्पादन गरेको वस्तुको बिक्रीवितरणको लागि बजारको व्यवस्था नहुनु र उत्पादित वस्तुको किसानले उचित मुल्य नपाउनु नै किसानहरुले कृषि पेसा छाड्दै जानुको प्रमुख कारण हो ।

घामपानी धुलोधुवा सहेर पसिना बगाउने किसानहरुले यसबाट जिउन सक्ने खालको वातावरण सरकारले छिटोभन्दा छिटो बनाउनुपर्ने अहिलेको आवश्यकता देखिन्छ ।

किसानले उत्पादन गरेको वस्तु विचौलियाहरुले सस्तोमा लिने तर त्यही वस्तु महङ्गोमा बेचेर विचौलिया मात्र धनी हुने गर्छ्न भने किसान जहिले गरिव नै भइ रहन्छन यो पिडादायी अवस्थाको अन्त्य गरिनु आजको आवश्यकता देखिन्छ ।

जबसम्म कृषकलाई कृषि पेसाबाट आर्थिक रुपमा आत्मनिर्भर तथा जीवनयापन गर्न सक्ने बनाउँदैनौं तबसम्म यो पेसामा लाग्नेहरुको सङ्ख्या बढाउन सक्दैनौं । हामीले जवसम्म कृषि पेसालाई मुल आयश्रोतको रुपमा प्रवद्र्धन गर्न सक्दैनौं तबसम्म हामी नेपाली आर्थिक रुपमा बलियो बन्न सक्दैनौं ।

मान्छेले काम गर्नु पैसा कमाउनुको अनेक उद्देश्यहरु होलान तर प्रमुख उद्देश्य भनेको खान र लाउनको लागि नै हो । त्यसैले हामीले खाद्यवस्तु आफै उत्पादन गरेर खान सक्नु नै हामी आर्थिक रुपमा सम्पन्न हुन सक्नु हो । हामी गाउँमा रहेको सयांैं रोपनी जग्गा बाँझो राखेर अरुको नोकर सो सरहको काम गर्न सहर छिर्ने गरेका छौं यो अवस्थाको अन्त्यको लागि सरकारले उपयुक्त वातावरण बनाइदिनु पर्छ ।

यो कृषि पेसा गर्नेहरुको लागि सरकारले फाइदामुलक प्याकेजहरुको सिर्जना गरिदिनुपर्छ । बीउ विजनदेखि लिएर प्रोत्साहन भत्ताको समेत व्यवस्था समेत गरिदिने हो भने यो पेसा गर्नेहरुको सङ्ख्या बढेर जानेछ । हामी किनेर खाने हैन खाद्यवस्तु अरुलाई बेच्न सक्ने हुनुपर्छ अनि मात्र हामी धनी बन्छौ ।

किसानलाई आधुनिक कृषि सामग्रीदेखि लिएर गएर किट्नासक औषधि लगायतका वस्तुहरु सकेसम्म निशुल्क नसके सस्तोमा उपल्ब्ध गराउन सक्यो भने यो पेसा अपनाउनेको सङ्ख्या बाधेर जानेछ । माथि उल्लेख गरिएका सम्पूर्ण कुराहरुको विपरित सरकारले किसान तथा व्यवसायीहरुलाई चर्को कर र महङ्गी मात्र थुपारी दिंदा धेरै निरास भएको देखिन्छ ।

यी सम्पूर्ण कुराको साथ साथै हामीसङ्ग कृषिको लागि उर्वर भूमि छ तर कृषि गर्ने व्यवसायिक ढङ्गको ज्ञानको कमीको कारणले पनि यो पेसा बध्नु र फाइदामा जानुको साटो घटेर घाटामा जानेदर तीब्र छ ।

हावापानी र माटो अनुसार खेती तथा कृषि गर्न सकियो भने मात्रै हामी यो पेसाबाट लाभ लिन सफल हुन्छौ भन्ने कुरा कृषि विज्ञहरुले पनि वताउदै आएका छन।उदाहरणको लागि हाम्रो मुलुकमा विभिन्न खालको हावापानी रहेतापनि समग्रमा चिसो मोउसम भएकोले कागती सुन्तला जस्ता चिजहरुको खेती अनि व्यवसाय गर्नु फाइदाको हिसावले उपयुक्त देखिन्छ ।

नेपालमा कागती खेतीबाट वार्षिक ५० लाखभन्दा वढि आम्दानी गर्न सकिने कुरा कागती व्यवसायीहरुले बताउने गरेको पाइन्छ । नेपालमा हालसम्म उत्पादनको हिसावले उच्चस्थानमा रहेको सुन्तला खेती राम्रो मानिएको छ । सुन्तला खेतीको लागि १६ सय मिटर सम्मको उच्चाईमा राम्रोसङ्ग फस्टाउने यो पेसामा लाग्नेहरुको अनुभव छ ।

हाम्रो नेपालको भौगोलिक अवस्थापनि धेरै जसो उच्च भएकोले पनि यस्ता पेसा उपयुक्त हुने देखिन्छ । बेलाबेला किसानले लगाएको बाली किरा फटयांग्रा लगायत अन्य बाहिरी जनावरले नष्ट गरिदिने भएकोले पनि किसानहरुले घाटा सहनुपर्ने हुन्छ । हाल फौंजी किरालगायत सलह किराजस्ता चीजहरुको कारणपनि किसानहरु करोडौंको नोक्सानी बेहोरी रहेका हुन्छ्न् ।

यस्तो बेलामा किसानलाई सम्वन्धित निकायले आवश्यक सहयोगदेखि राहतको समेत व्यवस्था गर्नसके किसानहरुको गिरेको मनोवल वाधेर जानसक्छ ।

यी सम्पूर्ण समस्याको बाबजुद पनि किसानले उत्पादन गरेको वस्तुको बिक्री वितरणको लागि बजारको व्यवस्था गर्ने उचित किसिमको मूल्य किसानलाई दिने खालको वातावरण बनाउन सकियो भने कृषि पेसा गर्नेहरुको सङ्ख्या वाधेर जानेछ भने व्यक्ति अनि राष्ट्रपनि आर्थिक हिसावले समृद्ध बन्ने पक्का छ ।