मिर्गौलाको समस्याबाट पीडित युवालाई प्रवासबाट सहयोग

असार ३१ बुधवार, २०७७
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका मिर्गौलाको समस्याबाट पीडित तेजबहादुर खड्कालाई प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

मिर्गौला फेल भएपछि हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दुधपाटी भक्तपुरमा उपचार गराइरहेका खड्कालाई हाल दोहा कतारमा रहेका युवाले १ लाख ५९ हजार १९० रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

खड्काको उपचार सहयोगार्थ दोहा कतारमा अमिर केरुङ लिम्बूको संयोजकत्वमा गठन गरिएको १३ सदस्यीय सहयोग समितिको पहलमा स्वदेश तथा विदेशमा बस्ने शुभेच्छुकबाट रकम संकलन गरेर पठाइएको सहयोग समितिका प्रमुख सल्लाहकार भलराज राईले बताए ।

मिर्गौलाको समस्याको उपचारकाक्रममा खड्कालाई आर्थिक समस्या परेको जानकारी भएपछि दोहामा रहेका युवाको पुस ४ गतेको बैठकले सहयोग संकलन गरेर पठाइदिने निर्णय गरेको थियो ।

३४ वर्षीय खड्कालाई गत मंसिर १३ गते वडा कार्यालय दोर्पाचिउरीडाँडाले सहयोगका लागि सिफारिस गरेको थियो । कतारमै पुगेका तेजबहादुरका काकामार्फत मिर्गौलाको उपचारकाक्रममा आर्थिक समस्या भएको जानकारी भएपछि प्रवासबाट सहयोग संकलन अभियान चलाइएको प्रमुख सल्लाहकार राईले जानकारी दिए ।