खोटाङ जिल्लाको जनसाँख्यिक चर्चा /अवस्था
खगेन्द्र कार्की
बिषय प्रवेश
तल्लो तहसम्मको जनसंख्या तथ्याङ्कको विस्तृत विवरण प्राप्त गर्ने प्रमुख श्रोत जनगणना हो । नेपालमा वि.स. १९६८ बाट प्रत्येक १०–१० वर्षमा जनगणना गरिंदै आएको छ । पछिल्लो २०६८ को जनगणना नेपालको एघारौँ जनगणना हो । देशको जनसाँख्यिक, आर्थिक र सामाजिक पक्षहरुको विश्लेषणको लागि जनगणनालाई प्रमुख तथ्यांकीय कार्यक्रम मानिन्छ । नेपालको जनगणनाको इतिहासमा खोटाङ जिल्लालाई हेर्दा छैटौं जनगणना (वि.स. २०१८) भन्दा अघि यो क्षेत्र माझकिराँत–भोजपुर र माझकिराँतको रुपमा उल्लेख गरि जनगणना गरेको पाईन्छ । वि.स. २०२८ देखिको जनगणना खोटाङ जिल्लाको रुपमा गरेपनि वि.स. २०३२ मा जिल्लाको सिमानामा केहि हेरफेर भएकोले हालको खोटाङ जिल्लाको जनसख्या आठौं जनगणना (वि.स.२०३८) देखि प्राप्त जनसंख्यासँग मात्र पूर्ण रुपमा तुलना योग्य हुन्छ ।
जनसंख्याका पक्षहरु
वि.स. २०३८ मा २,१२,५७१ रहेको यस जिल्लाको जनसंख्या वि.स. २०६८ मा २,०६,३१२ पुगेको छ । जिल्लामा २०३८–२०४८ र २०४८–२०५८ को दशकमा जनसख्यामा न्युन बृद्घि देखिए पनि २०५८–२०६८ को पछिल्लो दशकमा १०.८४% ले जनसख्या घटेको देखिन्छ । जिल्लाको २०५८–२०६८ को बार्षिक जनसंख्या बृदिदर –१.१५% रहेको छ, जुन २०४८–२०५८ को ०.६९ थियो । यसबाट खोटाङ जिल्लाको जनसख्याका पछिल्लो समयमा तीब्र दरले घटिरहेको देखिन्छ । खोटाङ नकारात्मक बार्षिक जनसख्या बृद्धिदर भएका नेपालका २७ जिल्ला मध्ये सबभन्दा बढि नकारात्मक बार्षिक जनसख्या बृद्धिदर भएको मनाङपछि दोस्रो जिल्लामा पर्दछ । जनसख्याको बृद्धिदरलाई जन्मदर, मृत्युदर र बसाँई सराईदरले प्रभाव पारेको हुन्छ । यस जिल्लाको जनसंख्या घट्नुको प्रमुख कारण यस जिल्लाबाट अन्य बढि सुविधा भएका जिल्लाहरुमा भएको बसाँईसराई हो ।
जिल्लाको २०५८ मा जनघनत्व (जनसंख्या प्रति व.कि.मि) १४५ रहेकोमा २०६८ मा १३० मा झरेको छ । २०६८ को यस जिल्लाको जनघनत्व नेपालको जनघनत्व (१८०) र पूर्वि पहाडि जिल्लाको जनघनत्व (१४९) भन्दा कम रहेको छ, यसबाट खोटाङ जिल्लामा जनसंख्याको चाप कम रहेको देखिन्छ । केन्द्रिय तथ्याङ्क विभागले गरेको जनसंख्या प्रक्षेपणले यस जिल्लाको जनसख्या सन् २०१६, २०२१, २०२६ र २०३१ मा क्रमशः १,९०,१००, १,६९,६३०, १,६१,९५७, १,५०,८८८ पुग्ने प्रक्षेपण गरेको छ ।
पछिल्लो जनगणनमा खोटाङ जिल्लामा ४२,६६४ परिवारहरुको बसोबास रहेको पाईएको छ । जसमध्ये शहरी (न.पा. क्षेत्र) परिवार संख्या ३७ % र ग्रामिण(गा.पा. क्षेत्र) परिवार संख्या ६३% हुन आउँछ । त्यस्तै जिल्लाको औषत परिवार सदस्य संख्या ४.८ पाइएको छ । जुन अगिल्लो गणनामा ५.४ पाइएको थियो । यसबाट पछिल्लो दशकमा जिल्लामा रहेको परिवारहरुको सदस्यहरुको आकार सानो हुदै गएको देखिन्छ ।
यस जिल्लाको कुल जनसंख्या मध्ये ४७.०६% पुरुष र ५२.९४% महिलाको जनसख्या रहेको छ भने लैङ्गिक अनुपात (प्रति सय महिलामा पुरुषको सङ्ख्या) ८९ छ । अघिल्ला ३ वटा जनगणनाहरु २०३८, २०४८ र २०५८ मा लैङ्गिक अनुपात क्रमशः १०१, ९४, ९५ रहेको थियो । यसबाट यस जिल्लामा पछिल्ला दशकहरुमा पुरुषको जनसख्या घट्दै र महिलाको जनसख्या बढ्दै गएको पाईन्छ ।
जिल्लाको बृहत उमेर समुह अनुसारको जनसख्याको चर्चा गर्दा कुल जनसख्या मध्ये ३७.३३% बाल वालिका (०–१४ बर्ष), ५५.३७% सक्रिय जनसख्या (१५–५९ बर्ष) र ९.३८% जेष्ठ नागरिक छन् । कुल आश्रित अनुपात (प्रति सय सक्रिय जनसख्यासँग आश्रित जनसंख्या) हेर्दा ८९.८३ हुन आउँछ, जुन राष्ट्रिय कुल आश्रित अनुपात ७५.५६ भन्दा धेरै हो । त्यस्तै कुल जनसंख्याको ३५.२१% युवा जनसंख्या (१५(४० वर्ष) रहेको छ ।
जिल्लाको कुल जनसंख्याको २.५८ प्रतिशत जनसंख्या कुनै न कुनै रुपमा अपाङ्ग पाईएको छ । अपाङ्गता मध्ये सबै भन्दा धेरै वौद्धिक असक्षमता भएका छन । त्यस्तै अपाङ्गता मध्ये दोश्रो र तेश्रो बढी अन्धा वा कम देख्ने र वहु असक्षमता रहेका छन् ।
साक्षरता सम्बन्धि
पछिल्लो जनगणनाबाट यस जिल्लाका ६ बर्ष वा सो भन्दा माथिल्लो उमेरका साक्षरता दर ६९.७% पाईएको छ (५ बर्ष वा सो भन्दा माथिल्लो उमेरका साक्षरता दर ६८.८३%) । त्यस्तै अघिल्ला दुई जनगणना २०४८ र २०५८ मा जिल्लाको ६ बर्ष वा सो भन्दा माथिल्लो उमेरका साक्षरता दर क्रमश ४०.३ र ५०.२ थियो । यसबाट पछिल्लो दुई दशकमा जिल्लाको साक्षरता दरमा उल्लेखिय प्रगति देखिन्छ । त्यस्तै ५ बर्ष वा सो भन्दा माथिल्लो उमेरको साक्षरता दरमा महिला भन्दा पुरुष बढी साक्षर पाइएको छ । २०६८ मा जिल्लामा रहेका कुल पुरुष जनसंख्यामध्ये ७७.७६ % साक्षर देखिन्छ भने जिल्लामा रहेका कुल महिला जनसंख्यामध्ये ६१.१०% साक्षर देखिन्छ । खोटाङ साक्षरतामा नेपालका जिल्लाहरु मध्ये ३१ औं स्थानमा रहेको छ ।
जात/जाति, मातृभाषा र धर्म
यस जिल्लामा जातिय, भाषिक तथा धार्मिक विविधता रहेको छ । २०६८ को जनगणनामा २४ जात जातिका मानिसहरुको बसोवास रहेको देखाएको छ । जसमध्ये सबैभन्दा धेरै राई (३६.६१%),क्षेत्री (२१.५१%),पहाडि ब्राहम्ण (७.१२%), नेवार (५.४१%), कामी (५.१४%) लगायतका जातजातिरहेका छन । जिल्लामा ३२ भाषा भाषीहरुको बसोवास रहेको पाइएको छ । जसमध्ये सबैभन्दा धेरै ५०.१३ % मानिसहरु मातृभाषाको रुपमा नेपाली भाषा बोल्छन । नेपालीपछि मातृभाषाको रुपमा वढि बोलिने भाषाहरुमा चाम्लिङ्ग (१६.५३%) मगर (४.४१%), तामाङ्ग (३.९४%) बान्तवा (३.७४%) रहेका छन् । यस जिल्लामा ५८.७८% जनसंख्या हिन्दु धर्मावालम्वी छन भने ३१.३८% किराँत, ७.३३% बौद्घ, २.०९% ईसाई, ०.०६ % प्रकृति र ०.३५% जनसंख्या अन्य धर्म मान्दछन ।
जन्मदर, मृत्युदर र बसाँईसराइ
जिल्लाको स्वास्थ्य सूचकहरुको कुरा गर्दा जिल्लाको अपेक्षित आयु, जन्ममा (भ्हउभअतबतष्यल इा षिभ बत दष्चतज० ६७ वर्ष रहेको छ । जसमा महिलाभन्दा पुरुषको अपेक्षित आयु बढि देखिन्छ । जिल्लाको अपेक्षित आयु नेपालको राष्ट्रिय अपेक्षित आयु (६६.६ वर्ष) संग लगभग वरावर रहेको देखिन्छ । त्यस्तै जिल्लाको कोरा मृत्यु दर, (प्रति हजार जनसंख्यामा १ वर्षमा मृत्यु हुने जनसंख्या) ७.६३ पाइएको छ जुुन राष्ट्रिय कोरा मृत्यु दर ७.३ रहेको छ । जिल्लाको नवजात शिशु मृत्युदर (प्रति हजार जिवित शिशुहरु मध्ये २८ दिन भित्र मृत्यु हुने शिशुहरुको संख्या) ३४.५६ रहेको छ जुन राष्ट्रिय शिशु मृत्यु दर (४०.५०) भन्दा कम हो । जिल्लाको महिला शिशु मृत्यु दर (२७.८५), पुरुष शिशु मृत्यु दर (४२.५९) भन्दा कम छ । जिल्लाका अन्य स्वास्थ्य सूचकहरु कोरा जन्म दर २३.०, शिशु मृत्युदर ३.६, ५ वर्ष मुनिको बाल मृत्युदर ५०.३ पाईएको छ ।
पछिल्लो जनगणनाबाट प्रप्त तथ्थाङ्कमा यो जिल्ला बढी वाहिरी बसाँईसराइ दर भएको नेपालको जिल्लाहरुमा पहिलो स्थानमा छ । यस जिल्लाबाट बसाँईसराइ जाने मुख्य गन्तव्य स्थान काठमाण्डौं (२१.८%), उदयपुर (१९.४%), मोरङ्ग (१८.४%), सुनसरी (१७.३%) र ललितपुर (४.२%) छन् । यो जिल्लाबाट आन्तरिक आजिवन बसाँई सराई ९षिभ तष्mभ mष्नचबतष्यल० गरि जाने संख्या १,०९,८११ छन् भने आन्तरिक आजिवन बसाँई सराइ यस जिल्लामा आउने ४,९७९ छन् । जुन कुल जनसंख्याको क्रमश ५३.२% र २.४% हुन आउँछ । यसरी यस जिल्लाको खुद आन्तरिक आजिवन बसाँई सराईदर –५०.८ छ ।
त्यस्तै जनगणना २०६८ को १ बर्ष अघिको अबधिमा मात्र खोटाङ जिल्लाबाट ४,७४२ जना आन्तरिक बसाँई सरेर गएका छन् ३१७ जना मात्र आन्तरिक बसाँई सरेर जिल्लाभित्र आएका छन् । सो बर्षको जिल्लाबाट बसाँई सरेर जानेको दर २३.० र जिल्लाभित्र बसाँई सरेर आउनेको दर १.५ छ भने खुद आन्तरिक बसाँई सराईदर –२१.४ हुन आउँछ । यस जिल्लाबाट काठमाण्डौं उपत्यका र पूर्वि तराईका जिल्लाहरुमा भईरहेको बसाँई सराईलाई जिल्लाको ग्रामिण भेगहरुमा यातयात, शिक्षा, स्वास्थ्य आदि पूर्वाधारहरुको विकाश गरी कम गर्न नसकिएमा पाहाडका गाँउहरु विस्तारै खाली हुने देखिन्छ ।
(लेखक तथ्यांङ कार्यालय उदयपुर, ( उदयपुर, खोटाङ) का कर्मचारी हुन्)
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



