कांग्रेसले क्रियाशिल सदस्यता फारम क्षेत्रमा पठायो

साउन ८ बिहीवार, २०७७
खोटाङ । नेपाली कांग्रेस जिल्ला कार्य समिति खोटाङले क्रियाशिल सदस्यता वितरणका लागि क्षेत्रीय कार्य समितिलाई क्रियाशिल फारम हस्तान्तरण गरेको छ ।

जिल्ला सभापति नरेशकुमार श्रेष्ठको अध्यक्षतामा मंगलवार बसेको बैठकमार्फत नविकरण र नयाँ क्रियाशिल सदस्यता तल्लो तहमा पु¥याउनका लागि क्षेत्रीय कार्य समितिलाई हस्तान्तरण गरेको हो ।

क्रियाशिल फारम जिल्ला सभापति श्रेष्ठले क्षेत्र नम्बर १ क्षेत्रीय सभापति इवन राई र क्षेत्र नम्बर २ का सभापति तीर्थराज भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।

कांग्रेसले अहिले रहेको क्रियाशिल सदस्य संख्याको ५० प्रतिशत हुने गरि नयाँ क्रियाशिल सदस्यता फारम क्षेत्रमा पठाएको नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए । सचिव जोशीका अनुसार खोटाङ क्षेत्र नम्बर १ मा हाल एक हजार ९७५ क्रियाशिल सदस्य छन् ।

त्यसको ५० प्रतिशत अर्थात ९८२ सय वटा नयाँ क्रियाशिलका लागि सो क्षेत्रमा फारम पठाइएको छ भने क्षेत्र नम्बर २ मा एक हजार २६४ क्रियाशिल सदस्य रहेका छन् । नयाँ ६३२ नयाँ क्रियाशील फारम पठाइएको छ ।

क्षेत्रमा पठाइएको क्रियाशिल सदस्यता क्षेत्र नम्बर १ को साउन ९ गते नुनथला र क्षेत्र नम्बर २ मा साउन १० गते सिम्पानीमा बस्ने क्षेत्रीय कार्य समितिको बैठकबाट तल्लो तहसम्म पु¥याइने नेपाली कांग्रेसले जनाएको छ । जिल्लाले साउन मसान्तभित्रमा नविकरण तथा नयाँ सदस्यता फारम भरेर केन्द्रमा पठाईसक्नुपर्नेछ ।