बोझे खोला–छोकमाला–दाम्दले–हैदे–सुनकोसी झोलुंगे पुल ग्रामिण सडक उद्घाटन

साउन  १८ आइतबार, २०७७

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा बोझे खोला–छोकमाला–दाम्दले–हैदे–सुनकोसी झोलुंगे पुल ग्रामिण सडक उद्घाटन गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बोझेखोलादेखि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको छोकमाला हुँदै सुनकोसी किनार जोड्ने नगरपालिका स्तरिय १२ किलोमिटर सडक शनिबार उद्घाटन गरिएको हो ।

हैदेमा आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले सडक उद्घाटन गरेका हुन् ।

नगरपालिकाकै बिकट क्षेत्रकारुपमा रहेको हैदे र दाम्दलेलाई सडकको पहुँचमा जोड्ने लक्ष्यकासाथ नगरपालिकाले बोझे खोला–छोकमाला–दाम्दले–हैदे–सुनकोसी झोलुंगे पुल सडकलाई प्राथमिकतामा राखेको थियो ।

नगरपालिका स्तरिय सडककारुपमा २ वर्षअघि नगरपालिकाले बिनियोजन गरेको १५ लाखबाट निर्माण सुरु गरिएको सडकका लागि गत वर्ष प्रदेश सरकारबाट १० लाख बिनियोजन भएको थियो ।

नगरपालिका र प्रदेश सरकारको बजेट अपुग हुँदा बाँकी रहेको करिब ३ किलोमिटर सडक खण्डलाई पुरा गरेर उद्घाटन गरिएको मेयर राईले बताउनुभयो । बाँकी रहेको सडक खण्ड यसपल्ट नगरपालिकाकैतर्फबाट तेल हालेर नगरपालिकाकै मेसिन प्रयोग गरेर पुरा गरिएको हो ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको बाँसबोटे जोड्ने सुनकोसी पुलसम्म पुर्‍याइएको सडकलाई क्रमशः दुर्छिमकै बतासेघाट जोड्नेगरी विस्तार गरिने नगरपालिकाले जनाएको छ ।

बोझे खोला–सुनकोसी झोलुंगे पुल सडक निर्माणकाक्रममा छोकमालाबाट बिकट बस्तीकारुपमा रहेको लाहाटुङसम्म सडक पुर्‍याइएको नगरप्रमुख राईले बताए ।

सो क्षेत्रमा विद्युत विस्तारको समेत अन्तिम तयारी भइरहेको छ ।