संसद विघटनको बिरोधमा कांग्रेसको भातृ संगठनको वाइक र्‍याली

खोटाङ । संसद विघटनको बिरोधमा नेपाली कांग्रेसको भातृ संगठनले खोटाङमा बाईक र्‍याली निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद बिघटन गरेको भन्दै कांग्रेस निकट नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल किसान संघ, नेपाल राष्ट्रिय मगर संघ, नेपाल दलित संघ लगायतका भातृ संघसंगठनले सोमबार दिक्तेलमा बाईक र्‍याली निकालेका हुन् । संसद विघटन विरुद्ध कांग्रेसको देशव्यापी कार्यक्रम अन्तर्गत उसका भातृ संगठनहरुले विरोध प्रदर्शन स्वरुप वाइक र्‍याली निकालेको बताएका छन् ।

दिक्तेलको अल्छेढुंगाबाट सुरु भएको र्‍याली रत्नपार्क (किरातचोक), संगमपार्क, वेसक्याम्प, त्रिबेणीचोक हुँदै भानुचोक परिक्रममा गरेर पुःन त्रिवेणीचोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई नेपाल तरुण दलका जिल्ला अध्यक्ष भीषण राई, उपाध्यक्ष काजीमान राई, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजकुमार बस्नेत, बरिष्ठ उपाध्यक्ष नइन्द्र राई, नेपाल महिला संघकी अध्यक्ष रामकुमारी राई, नेपाल राष्ट्रिय मगर संघका प्रतिनिधि लालबहादुर मगर लगायतले सम्वोधन गरेका थिए ।

उनीहरुले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै प्रधानमन्त्री ओलीको कडा शव्दमा विरोध जनाएका छन् । कार्यक्रममा नेपाली कांग्रेसका नेताको समेत उपस्थिति रहेको थियो ।