अन्तर क्लव फुटवल प्रतियोगितामा केएफएको विजयी सुरुवात

खोटाङको दिक्तेलमा जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगितामा खोटाङ फुटवल एकेडेमीले विजयी सुरुवात गरेको छ । दिक्तेलको माटिकोरे खेलमैदानमा बुधबारबाट सुरु भएको प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

खोटाङ फुटवल एकेडेमीले आयोजना गरेकोे प्रतियोगिताको उद्घाटन खेलमा केएफएले योङ व्वाइज युनाइटेड फुटवल क्लवलाई सुन्यका विरुद्ध एक गोल गर्दै विजयी सुरुवात गरेको हो ।

केएफएले दोश्रो हाफको अन्तिम समयमा गोल गरेको थियो । ‘स्थानीय खेलाडीको विकास र पहिचान खोटाङ फुटवल एकेडेमीको अभियान’ भन्ने नाराका साथमा आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

अखिल नेपाल फुटवल संघ ९एन्फा० अध्यक्ष कर्माछिरीङ शेर्पाले प्रतियोगिताको उद्घाटन गरेका थिए भने उद्घाटनको अवसरमा एकेडेमीको आफ्नै गीत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले सार्वजनिक गरेका छन् । उद्घाटन कार्यक्रममा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंसहित केन्द्रीय पदाधिकारीहरुको उपस्थिती थियो ।

प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ८८ हजार ८८८, दोश्रो स्थान प्राप्त गर्ने टिमले ४४ हजार ४४४ र दुई वटा सेमिफाइनलिस्ट टिमले प्रतिटिम २२ हजार २२२ का साथमा ट्रफि, मेडल र प्रमाण–पत्र पाउने खोटाङ फुटवल एकेडेमीका अध्यक्ष सैजुले बताए ।

यस्तै, उत्कृष्ट गोल रक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाण–पत्र तथा म्यानअफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

अन्तर क्लब पुरुष फुटबल प्रतियोगीतामा जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको, दर्ता गरेको प्रमाण–पत्र भएको तथा वार्षिकरुपमा नवीकरण गरेको टिमलाई मात्र सहभागी गराइएको एकेडेमीका अध्यक्ष सैजुले बताए ।

उद्घाटनका दिन जिल्लामा क्रियाशिल पत्रकार र केएफए भेट्रान ९वुढ्यौली० टिमविच मैत्रीपूर्ण प्रतियोगिता हुने भनिए पनि प्राविधिक कारणले फाइनलका दिन मैत्रीपूर्ण प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

यस्तै, खोटाङ फुटवल एकेडेमी पत्रकारिता पुरस्कार पत्रकार चिसाङ शेर्पालाई प्रदान गरिने आयोजकले जनाएको छ । पुरस्कार घोषणा गर्दै प्रतियोगिता समापनमा पत्रकार शेर्पालाई पुरस्कार प्रदान गरिने अध्यक्ष सैंजुले बताए ।

खेलकुदको अभियान खोटाङको पहिचान भन्ने नाराका साथमा २०७३ सालमा स्थापना भएको एकेडेमीले गत वर्षदेखि जिल्ला अन्तर क्लव पुरुष फुटवल प्रतियोगिता गराउदै आएको छ । पहिलो संस्करणमा आयोजक नै प्रथम भएको थियो ।

फुटसल सेन्टरलाई निःशुल्क जग्गा

माटिकोरे खेलमैदान नजिक निर्माण हुने फुटसल सेन्टरका लागि सोही ठाउँका ३ जना स्थानीयले निःशुल्क जग्गा दिने घोषणा गरेका छन् । स्थानीय विष्णुमाया खत्री, पोस्टक बहादुर खत्री र राम बहादुर खत्रीले फुटसल सेन्टरका लागि आवश्यक जग्गा निःशुल्क दिने घोषणा गरेका हुन् ।

जग्गा प्राप्त भएपछि फुटसल सेन्टरको आजै एन्फा अध्यक्ष शेर्पाले शिलान्यास गरेका छन् । जग्गादान गर्ने दाताहरुलाई एन्फा अध्यक्ष शेर्पा र नगरप्रमुख रिजाल लगायतले सम्मान गरेका थिए ।