खोटाङमा एकै परिवारका चार जनाले जिते कोरोना, निको हुनेको संख्या ६ पुग्यो

खोटाङ । खोटाङका चार संक्रमितले कोभिड–१९ को संक्रमणलाई जितेका छन् । कोभिड–१९ को संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा अल्छेढुंगाका एकै परिवारका चार जनाले कोरोना संक्रमणलाई जितेका हुन् ।

गत बैशाख २२ गते गरिएको एन्टीजेन परिक्षणमा गुरुङ थरका ३५ वर्षीय पुरुष, २० वर्षीय महिला, २८ वर्षीय पुरुष र २७ वर्षीय महिलाले कोरोना जितेका हुन् । शनिबार गरिएको एन्टीजेन परिक्षणमा एकै परिवारका चार जनाको एन्टीजेन रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामिछानेले बताए ।

शुक्रबार पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाण्डे थरका एक पुरुष कोरोना संक्रमणमुक्त भएका थिए । यससँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ पुगेको छ । निको भएका सबै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका हुन् । हालसम्म ६ जना संक्रमणमुक्त हुँदा र १ जनाको मृत्यु हुँदा जिल्लामा सक्रिय संक्रमितको संख्या १२१ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।