खोटाङमा थप १० जनालाई कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १२१ पुग्यो

खोटाङमा थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको एन्टीजेन परीक्षणमा हलेसी तुवाचुङ नगरपालिकामा ८ जना र ऐसेलुखर्क गाउँपालिकामा २ जनालाई संक्रमण पुष्टि भएको हो ।

हलेसीमा २३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए । हालसम्म ६ जना संक्रमणमुक्त हुँदा र १ जनाको मृत्यु हुँदा जिल्लामा सक्रिय संक्रमितको संख्या १२१ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४६ जना, हलेसी तुवाचुङ नगरपालिकामा २५ जना, साकेला गाउँपालिकामा २३ जना, ऐसेलुखर्क गाउँपालिकामा १३ जना, रावाबेँसीमा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना र जन्तेढुंगा गाउँपालिकामा ४ जना सक्रिय संक्रमित छन् ।

संक्रमितमध्ये १०६ जना होेमआइसोलेसनमा र १५ जना संस्थागत आइसोलेसनमा बसिरहेका छन् । संस्थागत आइसोलेसनमा बसिरहेकामध्ये खोटेहाङ गाउँपालिकाका ३ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १ जनालाई अन्यत्र रेफर गरिएको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामिछानेले बताए ।

संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्दै पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ । जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ ।