बराहपोखरी गाउँपालिकाले खरिद गर्‍यो जनताको लागि एम्बूलेन्स

खोटाङ /खोटाङको बराहपोखरी गाउँपालिकाले एम्बूलेन्स खरिद गरेको छ । विरामी तथा घाईते नागरिकलाई सहजताका साथ अस्पताल पुर्‍याउने र ल्याउने व्यवस्थाका लागि गाउँपालिकाले एम्बूलेन्स खरिद गरेको हो ।

गाउँसभाको निर्णय अनुसार १२ लाखमा खरिद गरिएको एम्बूलेन्स शुक्रबार गाउँपालिकाको कार्यालयमा आइपुगेको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए । भारतमा खरिद गरिएको एम्बूलेन्स लामो समयसम्म भन्सारमा अड्किएको थियो ।

यस्तै, ऐसेलुखर्क गाउँपालिकाले खरिद गरेको एम्बूलेन्स जेठ १५ गते गाउँपालिका आइपुगेको छ । खोटाङ सेवा समाज यूकेले २०७३ साल चैत्रमा प्रदान गरेको एम्बूलेन्स सञ्चालन गर्दैआएको गाउँपालिकाले आफ्नै बजेटमा अर्को नयाँ एम्बूलेन्स खरिद गरेको हो ।

भारतमा करिब १० लाखमा खरिद गरिएको एम्बूलेन्स बीरगञ्ज आएर केही समय रोकिएको थियो । खोटाङ सेवा समाज यूकेले दिएको एम्बूलेन्स परानो हुँदै गएको र कतिपय अवस्थामा बिग्रेर समस्या निम्तिने गरेकाले अर्को एम्बूलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

जिल्लाका १० स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा खोटाङ सेवा समाज यूके, भारतीय दुतावास, खोटाङ सेवा समाज दोहा कतार, विभिन्न दाताबाट प्राप्त एम्बूलेन्स सञ्चालनमा छन् ।