साकेला गाउँपालिकाको आफ्नै एम्बूलेन्स

खोटाङ /खोटाङको साकेला गाउँपालिकाले आफ्नै एम्बूलेन्स खरिद गरेको छ । बिरामी, घाईते वा शारीरिक रुपमा अशक्त बनेका पालिकाबासीलाई सहज तरिकाले स्वास्थ्य संस्थासम्म पुर्‍याउने र ल्याउने सुविधाका लागि एम्बूलेन्स खरिद गरेको हो । गाउँपालिकाको गाउँसभाको निर्णय अनुसार ठेक्का प्रणालीबाट भारु ५ लाख ९७ हजार ३०२ रुपैयाँमा एम्बूलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए ।

म्बूलेन्स खरिदका लागि गाउँसभाले २० लाख विनियोजन गरेको थियो । एम्बूलेन्स खरिद, जनशक्ती÷चालक व्यवस्थापनका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको थियो ।

अग्नी इनकर्पोरेटेड प्रालि काठ्माण्डौंबाट असार २१ गते खरिद गरिएको एम्बूलेन्स तीन दिनअघि दिक्तेल आइपुगेको साकेला गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक शेखरकुमार राजवंशीले बताए । हालसम्म दिक्तेलबाट साकेला जाने सडक हिलाम्मे भएका कारण एम्बूलेन्सलाई जिल्ला समन्वय समितिको प्रांगणमा राखिएको छ ।

यसअघि बराहपोखरी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाले पनि आफ्नै बजेटबाट एम्बूलेन्स खरिद गरिसकेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा खोटाङ सेवा समाज यूके, भारतीय दुतावास, खोटाङ सेवा समाज दोहा कतार, विभिन्न दाताबाट प्राप्त एम्बूलेन्स सञ्चालनमा छन् ।

रावाबेँसी गाउँपालिकामा भने स्वदेश तथा बिदेशमा रहेका रावाबेँसी गाउँपालिका–६ हौंचुरका युवा र सोही गाउँपालिकाको संयुक्त लगानीमा खरिद गरिएको एम्बूलेन्स सञ्चालनमा छन् ।