नगरपालिकाको छड्केमा तरकारी बिचौलिया

खोटाङ । खोटाङको दिक्तेलबजारमा लाग्ने हटियाका तरकारी बिचौलिया नगरपालिकाको छड्के जाँचमा परेका छन् । तरकारीमा हुने बिचौलिया अन्त्यका लागि कडाई सुरु गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बुधबार गरेको छड्के अनुगमनकाक्रममा तरकारीमा बिचौलियाको काम गर्दै आएका एक व्यवसायीलाई फेला पारेर तारिखमा बोलाएको छ ।

दिक्तेलबजारमा लाग्ने शनिबारे र बुधबारे हटियाका दिन बिचौलियाको काम गर्ने ४÷५ जनाको नाम आएपनि एक जना मात्र फेला परेको नगरप्रमुख दिपनारायण रिजालले बताए । उनलाई आगामी दिनमा तरकारीमा बिचौलियाको काम नगर्ने र गरेमा कालोबजारी अन्तरगतको मुद्धा चलाउने चेतावनी सहित छाडिएको नगरपालिकाले जनाएको छ ।

सस्तो मूल्यमा एकमुष्ट तरकारी खरिद गर्ने र महंगोमा बिक्री गर्ने बिचौलिया प्रथाले उपभोक्ताको हातमा महंगो मूल्यमा तरकारी पुग्ने गरेको व्यापक जनगुनासो आएपछि नगरपालिकाले गत जेठदेखि बिचौलियाको काममा रोक लगाएको हो । ‘तरकारीमा चार÷पाँच जनाले बिचौलियाको काम गर्दै आएको सूचना प्राप्त भएको थियो,’ नगर प्रमुख रिजालले भने, ‘तर एक जना मात्र फेला परेका छन् । आगामी दिनमा बिचौलियाको काम नगर्नका लागि एक पटकलाई माफ दिएका छौँ ।’ बिचौलियाको काममा रोक लगाएको नगरपालिकाले कार्यान्वयन भए÷नभएको विषयमा प्रहरीको सहयोगमा छड्ने अनुगमन गरेको जनाएको छ ।

गोलबेँडा, काउली, आलु, प्याज, अदुवा, बन्दा, ब्रोकाउली, रायो, लसुन, धनिया, करेला, केराउ, फापर साग, सिम साग, तोरीको साग, सिमी जस्ता तरकारी तथा सागसव्जीमा भइरहेका बिचौलियाका कारण हरेक थोकबस्तु ५ देखि २० रुपैयाँले महंगो भइरहेको उपभोक्ताको गुनासो छ ।