कांग्रेसद्धारा प्रजातन्त्र सेनानी बजियमको सम्झना

खोटाङ । नेपाली कांग्रेस खोटाङले १०५ वर्षमा निधन भएका प्रजातन्त्र सेनानी मणिसुन्दर बजियमको सम्झना गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको भानुचोकस्थित आफ्नै निवासमा गत कात्तिक २१ गते निधन भएका प्रजातन्त्र सेनानी बजियमलाई १३ औं पूण्यतिथिमा सोमबार आयोजित श्रद्धाञ्जली सभामा कांग्रेस नेता कार्यकर्ता र आफन्तले सम्झिएका हुन् ।

२००७ सालका क्रान्ती योद्धा रहेका प्रजातन्त्र सेनानी बजिमयको पुण्यतिथिमा दिक्तेलस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली सभाका वक्ताले बजिमयको योगदानको बिषयमा चर्चा गर्दै उनले देखाएको बाटो अनुशरण गर्न नसकिएको गुनासो गरेका छन् । नेपाली कांग्रेस खोटाङका पूर्वसभापति बिष्णुकुमार राई, प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, कांग्रेस नेता केशव कार्की, दुर्गाप्रसाद घिमिरे लगायतले प्रजातन्त्र स्थापनाका लागि जेलनेल भोगेका बजिमयका आदर्श व्यक्तित्व अनुशरणीय रहेको उल्लेख गरेका छन् ।

श्रद्धाञ्जली सभामा बजियमले प्रजातन्त्र स्थापनाका लागि तत्कालिन राणा शासक र पञ्चायती व्यवस्था विरुद्ध जीवन समर्पण गरेको चर्चा गरिएको थियो । कार्यक्रमकैबीचमा कांग्रेस जिल्ला सभापति नरेश श्रेष्ठले बजिमयको सम्मानमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । विक्रम सम्बत १९७० साल कात्तिक २८ गते जन्मिएका बजिमयको निधनमा कांग्रेस खोटाङले हप्ता दिन पार्टीको झण्डा आधा झुकाएर पार्टीका हरेक औपचारिक काम रोकेको थियो ।

२००७ सालमा राणा शासन विरुद्धको संघर्षमा सहभागी हुँदा राणा शासकले पक्राउ गरेर जेल हाल्ने तयारी गरेपछि बजिमयले भारतको दार्जिलिङमा ३ वर्षसम्म बिताएका थिए । ३ वर्षपछि बिक्रम संबत २०१० सालमा नेपाल फर्किए पनि उनको संघर्षका यात्रा रोकिएन । प्रजातन्त्र प्राप्तिका लागि जनमूक्ति सेना बनेर लडेका बजियम पुःन पञ्चायत शासकका बिरुद्धमा पनि उस्तैगरी लड्न थाले । पञ्चायत ढाल्नका लागि संघर्षमा सामेल भएकामा तत्कालिन राजा महेन्द्र शाहले फाँसी दिने घोषणा गरेपछि बजिमय सिराहाको एक जंगलमा बसेर लुकिछिपी अझ सशक्त रुपमा लागि परे । कांग्रेसको पञ्चायत बिरुद्धको शसस्त्र संघर्षकाक्रममा बिक्रम सम्बत् २०१८ सालमा खोटाङको तत्कालिन प्रशासनिक केन्द्र ऐसेलुखर्क आक्रमण गर्नेक्रममा सहभागी बनेका बजिमय केही साथीहरु सहित पक्राउ परेका थिए । उसबेला खोटाङमा कारागार नभएकाले उनीहरुलाई ओखलढुंगा कारागार पठाइएको थियो । ५ महिना जेल जीवन बिताएपछि छाडिएका उनी राजनैतिक गतिविधिमा झनै क्रियासिल रहे ।

प्रजातन्त्र पुःर्नस्थापनाका लागि २०३६ साल र २०४६ सालको संघर्षमा पनि उनी सक्रियातापूर्वक लागिपरे । बिराटनगरमा लुकेर गतिविधि सञ्चालन गरिरहेको अवस्थामा २०४६ सालमा तत्कालिन शासकले पुःन पक्राउ गर्ने तयारी गरेपछि बजिमय त्यहाँबाट भागेर आफ्नै जिल्ला आइपुगे । तत्कालिन शासकको नजर छल्दै लफ्याङ (हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५) को जंगलमा स्याउलाको छाप्रो बनाएर पञ्चायत विरुद्ध गतिविधि सञ्चालन गरिरहेको अवस्थामा २०४६ सालमा बहुदल घोषणा भएपछि उनी स्वतन्त्रपूर्वक घर फर्किएको परिवारको भनाई छ ।
आफ्नो अधिकांश जीवन प्रजातन्त्रका लागि लडेर बिताएका बजिमयलाई २०५६, २०६८ र २०७१ सालमा कांग्रेसले सम्मान गरेको थियो ।