विश्वकै लामो रेडियो अन्तरर्वार्ता लिएर पत्रकार निरौलाले राखे विश्व रेकर्ड

सोलुखुम्बु /१० वर्षअघि अस्ट्रेलियामा कायम भएको विश्वकै लामो रेडियो अन्तर्वार्ताको रेकर्ड नेपालका पत्रकार भानुभक्त निरौला र पर्यटनविद् आङफिन्जो शेर्पाले तोडेका छन् ।

नेपाली रेडियो इतिहासमा विश्वकै लामो रेडियो अन्तर्वार्ताबाट सोलुखुम्बु जिल्लालाई आधार बनाएर पत्रकारिता क्षेत्रमा क्रियाशील निरौला र पर्यटनविद् शेर्पाले विश्व किर्तिमान कायम गरेका हुन् ।

पत्रकार निरौला र पर्यटनविद् शेर्पाले सोलुखुम्बुमा सञ्चालित हिमाल एफएमबाट २५ घण्टा २६ मिनेट लामो रेडियो अन्तर्वार्ता लिएर यसअघि अस्ट्रेलियामा भएको २४ घण्टाको रेकर्ड ब्रेक गर्दै नेपालको तर्फबाट विश्व रेकर्ड कायम गरेका हुन् ।

‘पर्यटन र जलवायु परिर्वतनका असर’ विषयमा विश्वकै लामो रेडियो अन्तर्वार्ता गत कात्तिक २२ गते सोमबार बिहान ७ः३५ मा सुरु भई कात्तिक २३ गते मंगलबार बिहान ९ः१ सम्म लगातार २५ घण्टा २६ मिनेट हिमाल एफएमको शाखा स्टुडियो काठमाडौंबाट प्रसारण गरिएको थियो ।

निरौला र शेर्पाले पेस गरेको दाबीलाई गिनिज बुक अफ वल्र्ड रेकड्र्सले सोमबार मान्यता दिँदै आफ्नो वेभसाईटमा अस्ट्रेलियाको अभिलेख हटाएर नेपालको राखेको छ ।

आधिकारिक मान्यता पाएपछि पत्रकार निरौलाले यो कीर्तिमानले नेपाली रेडियो प्रसारणको इतिहासमा विशेष महत्व राख्ने भन्दै देशकै लागि एउटा कीर्तिमान थप्न सकेकोमा गौरव महसुस भएको बताए ।

यसअघि विश्वको लामो रेडियो अन्तर्वार्ता सन् २०११ मा अस्ट्रेलियाका पत्रकार रिचर्ड ग्लोभरको नाममा खेलविज्ञ पिटर फिट्ज्मिन्ससँग रेडियो ७०२ एबिसी सिड्नीमा खेल क्षेत्रको विषयमा २४ घण्टा समयसम्म लिइएको रेकर्ड थियो ।