खोटाङमा चार दलीय गठबन्धन गर्ने सहमति, कुन पालिका कसको भागमा हेर्नुहोस

खोटाङ , खोटाङमा चार दलीय गठबन्धन गर्ने सहमति भएको छ। करीव १५ दिन सम्म निरन्तर छलफलपछि गएराति चार दलबीच गठबन्धन गर्ने सहमति भएको हो।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबीच आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनावमा जाने सहमति भएको नेपाली कांग्रेसका सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए।गत चैत १६ गते जिल्ला समन्वय समितिको सभाहलमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी पार्टीको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई कायमै राख्ने निर्णय गरेको थियो। त्यसयता पटकपटक तालमेलबारे छलफल गर्न गठबन्धन दलको बैठक बसे पनि सहमित जुट्न सकेको थिएन। आइतबार राति साढे ११ बजे बसेको चार दलको बैठकले निर्वाचनमा तालमेल गर्ने सहमति जुटाएको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले जानकारी दिनुभयो।

बैठकले तालमेलको मोडालिटीसमेत टुंगो लगाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा ४ पालिकामा कांग्रेसबाहेकको गठबन्धन बन्ने भएको छ। हलेसी तुवाचुुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित कांग्रेस एक्लै लड्दा अरू तीन दलले एकअर्कालाई सहयोग गर्ने सहमति भएको हो । हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माओवादीका प्रमुख र उपप्रमुखका उम्मेद्वारलाई एकीकृत समाजवादी र जसपाले सहयोग गर्दा साकेला गाउँपालिकामा माओवादीका अध्यक्ष र जसपाका उपाध्यक्ष, केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीका अध्यक्ष र जसपाका उपाध्यक्षलाई एकअर्काले सहयोग गर्नेछन्।

बाँकी ६ पालिकामा भने चार दलीय गठबन्धन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी, ऐँसेलुुखर्क, खोटेहाङ, वराहपोखरी र जन्तेढुंगा गाउँपालिकामा भने चार दलबीच नै गठबन्धन गर्ने सहमति भएको हो। यीमध्ये तीनमा कांग्रेस र तीनमा माओवादीले प्रमुखको उम्मेद्वार पाउनेछन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेँसी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र माओवादीलाई उपप्रमुख, वराहपोखरी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र एकीकृत समाजवादीलाई उपप्रमुख, ऐँसेलुखर्क र जन्तेढुंगा गाउँपालिकामा माओवादीलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख र खोटेहाङ गाउँपालिकामा माओवादीलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख पदको उम्मेद्वार दिने गठबन्धन दलले सहमति गरेका छन्।

पालिकामा तालमेल र भागबण्डाको विषय टुंगिए पनि कहाँ कसलाई उम्मेद्वार बनाउने भन्ने टुंगो लाग्न बाँकी छ। उक्त विषय आजभित्रै टुंगो लाग्ने गठबन्धन दलका एक नेताले बताउनुभयो। जिल्लाका ७९ वडाहरूमा भने तालमेल र भागबण्डाको विषय छलफलकै क्रममा छ। उक्त विषय पनि भोलिभित्र टुंगो लगाइने गठबन्धन दलका नेताले बताएका छन्।

कसले कुन पालिका पाए हेर्नुहोस

बराहापोखरी गाउँपालिका
अध्यक्ष कांग्रेस
उपाध्यक्ष एकीकृत समाजवादी
जन्तेढुंगा गाउँपालिका
अध्यक्ष माओवादी केन्द्र
उपाध्यक्ष कांग्रेस
खोटेहाङ गाउँपालिका
अध्यक्ष माओवादी केन्द्र
उपाध्यक्ष कांग्रेस
दिप्रुङ चुइचुम्मा गाउँपालिका
खुला ९गठबन्धन नहुने०
साकेला गाउँपालिका
खुला ९गठबन्धन नहुने०
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
प्रमुख कांग्रेस
उपप्रमुख माओवादी केन्द्र

हलेसी तुवाचुङ नगरपालिका
खुला ९ गठबन्धन नहुने०
रावावेंसी गाउँपालिका
अध्यक्ष कांग्रेस
उपाध्यक्ष माओवादी
ऐंसेलुखर्क गाउँपालिका
अध्यक्ष माओवादी केन्द्र
उपाध्यक्ष कांग्रेस
केपिलासगढी गाउँपालिका
खुला ९गठबन्धन नहुने
स्रोत प्रभाव न्युज