खोटाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना 

खोटाङ, ८ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै खोटाङका मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । बिहिबार जिल्ला न्यायधीश मातृकाप्रसाद आचार्यले व्यानर खोलेर मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका छन् ।

समग्र जिल्ला र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्वाचन सम्वन्धी गतिविधि सञ्चालन गर्नेगरी २२ दिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायधीश मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनका क्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल, जिल्ला निर्वाचन अधिकारी राजेश गौतम, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक उमेश लम्साल, सशस्त्र प्रहरी हलेसी गुल्मका प्रहरी नायव उपरिक्षक सरोज कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री लगायतको उपस्थिति रहेको थियो । बिहिबार एकैसाथ जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत एबं जिल्ला न्यायधीश आचार्यले बताए ।

यस्तो छ निर्वाचन तयारी 

जिल्ला निर्वाचन कार्यालय खोटाङले स्थानीय तहको निर्वाचनका लागि आवश्यक पूर्वतयारी धमाधम गरिरहेको छ । निर्वाचन अधिकृतको कार्यालयबाट हुने निर्वाचन गतिविधि सुरु गर्नुका साथै निर्वाचन अधिकृतको कार्यालयमा पठाउनुपर्ने निर्वाचन सामग्री पठाइसकिएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए ।

निर्वाचनका लागि आवश्यक जनशक्ति समेत तयारी अवस्थामा राखिएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङका १ लाख ४३ हजार ७५२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन् । निर्वाचनका लागि खोटाङमा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएका छन् ।

सुरक्षा व्यवस्थामा कडाई 

स्थानीय तहको निर्वाचनका लागि जिल्लामा आवश्यक सुरक्षा व्यवस्था तयारी अवस्थामा राखिएको छ । निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिसकिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

‘मतदान स्थललाई दृष्टिगत गरी मोबाईल गस्ती र नेपाली सेनाको स्ट्राइकिङ बेस सुरु गरिएको छ,’ प्रजिअ दाहालले भने, ‘सुरक्षा व्यवस्थालाई भरपर्दो र मजबुद बनाइएको छ । अत्यन्त सुरक्षित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न तयार छौँ ।’