किर्ते शैक्षिक प्रमाणपत्र तयार पारेर अनलाइन दर्ता गर्ने गिरी पक्राउ 

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले लिखत सम्वन्धी कसुर गर्ने पत्रकारलाई पक्राउ गरेको छ । अरुको शैक्षिक प्रमाणपत्रको प्रतिलिपीमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर किर्ते प्रमाणपत्र तयार पारेर सूचना तथा प्रशारण बिभागमा अनलाइन मिडिया दर्ता गरेको भन्दै उजुरी परेको आधारमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई पक्राउ गरेको हो ।

हलेसीपार्टी डटकम नामक अनलाइन गर्दा गर्नेक्रममा गिरीले ब्रिलियन्ट बहुमुखी क्याम्पस चावहिल, काठ्माण्डौंमा व्यवस्थापन विषयमा स्नातक तह अध्ययन गरेको प्रमाणपत्र पेश गरेका थिए । तर उनले अर्काको नामको शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र र लव्धांकपत्रको प्रतिलिपीमा आफ्नो नाम, ठेगाना समाबेस गरी सरकारी छाप दस्तखत किर्ते कागजातको आधारमा अनलाइन दर्ता गरेर सञ्चालन गरेको भन्दै उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले प्रतिवादी गिरीलाई काठ्माण्डौं महानगरपालिका–३२ पेप्सीकोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक सागर साहले विज्ञाप्तिमार्फत जानकारी दिएका छन् ।

गिरीलाई जिल्ला अदालतबाट लिखत सम्वन्धी कसुरमा मंगलबार ५ दिनको म्याद थप अनुमति लिएर हिरासतकक्षमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनले कुभेसचन्द्र गिरीको शैक्षिक प्रमाणपत्रलाई किर्ते गरेर आफ्नो बनाएर सूचना तथा प्रशारण बिभागमा पेश गरेको खुलेको छ । उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो