रावाबेँसीमा एमालेका उम्मेदवारले बालबालिकालाई पार्टीको झण्डा बोकाउँदै

खोटाङ, वैशाख २४ । खोटाङमा निर्वाचन आचारसंहिताविपरीत चुनाव प्रचारमा बालबालिकाको प्रयोग गरेको पाइएको छ । जिल्लाको रावाबेँसी गाउँपालिकामा चुनाव प्रचारप्रसारका क्रममा बालबालिकालाई पार्टीको झण्डा बोकाएर घरदैलो अभियान सञ्चालन गरेको पाइएको हो ।
शनिबार दिउँसो नेकपा एमालेबाट रावाबेँसी गाउँपालिकाको अध्यक्षका उम्मेदवार हरिकुमार पोखरेल, उपाध्यक्षकी उम्मेदवार कौशिला गुरुङ र वडा नं.–६ हौंचुरका वडाध्यक्षका उम्मेदवार यज्ञनारायण श्रेष्ठले बालबालिकालाई पार्टीको झण्डा बोकाएर चुनाव प्रचारमा सहभागी भएका देखिएको छ । चुनाव प्रचारमा सहभागी हुँदै गर्दा खिचिएको तस्वीरमा बालबालिकाले पार्टीको झण्डा बोकेको देखिन्छ । उक्त तस्वीर वडाध्यक्षका उम्मेदवार श्रेष्ठले समाजिक सञ्जाल फेसबुकमा पोष्टसमेत गरेका छन् ।
निर्वाचन आचारसंहिताले चुनावमा बालबालिकाको प्रयोग निषेध गरेको छ । तर, जिम्मेवार राजनीतिक दल तथा तिनका उम्मेदवारले आचारसंहिताको ठाडो उल्लंघन गर्दै खुलेआम रूपमा बालबालिकाको प्रयोग गरेका छन् ।