साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईको पहिलो निर्णयः युवालाई सीप सिकाएर रोजगारी दिने योजना

खोटाङको साकेला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रविप्रकाश राईले सबै बेरोजगार युवालाई सीप दिएर दक्ष रोजगार बनाउने बताएका छन्। सोमबार पदभार ग्रहण गर्दै राईले बेरोजगारयुवाहरुलाई सीप सिकाएर स्थानीयस्तरमै आयस्रोत गर्ने खालको व्यापार व्यवसाय संचालन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

काम सानो ठूलो हुँदैन, पालिकाभित्र रहेका आम्दानीका स्रोतहरु पहिचान गरि युवाहरुलाई सीप सिकाएर रोजगारतर्फ लैजान्छु उनले भने।

कृषिलगायतका अन्य थुप्रै क्षेत्रमा व्यवसाय संचालन गर्न सहयोग गर्ने उनको भनाई थियो। कृषिसँग सम्बन्धित संस्थाहरुसँग सहकार्य गर्दै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने पनि लक्ष्य रहेको बताएका छन्।

आधुनिक कृषिको लागि पनि युवाहरुको भुमिका उत्तिकै हुनेछ। उनले भने। गाउँपालिकाभित्रका ग्रामिण सडकहरुको स्तरउन्नति गरि बाह्रै महिना संचालनमा ल्याउने पनि उनले प्रतिवद्धता व्यक्त गरेका छन्।

पालिकालाई पूर्ण ‘डिजिटललाइज’ गर्दै र प्रविधिमैत्री बनाउने र पाालिकाबाट प्रवाह हुने काम कार्य छिटो छरितो बनाउने उनको भनाई छ।

शिक्षालाई प्राथामिकतामा राखेर सामुदायिक विद्यालयहरुको गुणस्तर अभिबृद्धि गर्दै साक्षर साथै सीपमुलक जनशक्ति उत्पादन गर्ने उनले प्रतिवद्धतामा उल्लेख गरेका छन्।

साकेला गाउँपालिकाले आयोजना गरेको निवर्तमान जनप्रतिनिधिहरुलाई विदाई तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रम गरिएकाे थियाे