खोटाङको किरात राई पत्रकार संघमा विवाद, ११ जनाको समितिबाट ७ जना बाहिरिए

खोटाङ, किरात राई पत्रकार संघ खोटाङको नयाँ कार्य समिति चयन भएको २ दिनमै उपाध्यक्ष र सचिवसहित ७ जना पदाधिकारी सामुहिक रुपमा बाहिरिएका छन्। बिहिबार दिक्तेलमा भएको संघको पाँचौं अधिवेशनबाट चयन भएका ७ जना पदाधिकारी बाहिरिएका हुन्।
अधिवेशनले ११ जनाको नयाँ कार्य समिति चयन गरेको २ दिन नबित्दै व्यक्तिगत स्वार्थले समिति चयन भएको भन्दै ७ जनाले विज्ञप्ती मार्फत शनिबार सामुहिक राजीनामा दिएका छन् ।
बिहिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको पाँचौं अधिवेशनबाट असल चरित्रलाई किरात राई पत्रकार संघको अध्यक्षमा चयन गरिएको हो । संघको उपाध्यक्षमा कृष्णकला राई, सचिवमा योगीन राई, सह–सचिवमा रेमन राई र कोषाध्यक्षमा मेनुका चाम्लिङ चयन भएका थिए। सदस्यमा क्रिष्टिना राई, जीवन चाम्लिङ, राई अशोक, एल्जीना राई, पवित्रा राई र सदिक्षा राई चयन भएको थियो।
त्यसको २ दिनमै उपाध्यक्ष कृष्णकला राई, सचिव योगीन राई, सहसचिव रेमन राई, सदस्यहरु एल्जिना राई, जीवन राई, मेनुका राई र पवित्रा राईले साुमहिक विज्ञप्ति निकाल्दै संघको कुनै जिम्मेवारीमा नबस्ने बताउदै पुनः अधिवेशन गर्न माग गरेका छन्।
“किरात राई पत्रकार संघ जस्तो पवित्र संस्थामा अधिवेशनको समयमा व्यापक राजनीतिकरण गर्दै केही व्यक्तिको सनकका भरमा अधिवेशनबाट पदाधिकारी छनोट हुनु दुःखद हो भन्ने हाम्रो बुझाई छ। अधिवेशनबाट सर्वसम्मत नेतृत्व छान्ने वा सर्वसम्मत हुन नसके वैकल्पिक उपायहरु खोजिनु पर्ने तथा चुनाव मार्फत नेतृत्व छानिनु पर्ने व्यवस्था हुँदा हुँदै केही व्यक्तिको नीजि स्वार्थका कारण आफ्नो र आफ्नो गोजीको मान्छेलाई नेतृत्वमा ल्याएको हामी कदापी स्विकार्न सक्दैनौँ।” विज्ञप्तीमा लेखिएको छ।