जथाभावी तारैतारले कुरुप बन्यो दिक्तेल बजार

खोटाङ, जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रुपाकाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजार कुरुप बन्दै गएको छ । जथाभावी बिछ्याइएको तारले बजार क्षेत्र कुरुप साथै खत्ररा पनि बढेको छ ।
दिक्तेल बजारका बिचमा विद्युतका पोलहरु गाडिएका ठाउँमा पोलबाट विद्युतको तार, नेपाल टेलिकमका तार र विभिन्न नेटका तारहरु छरपस्ट तरिकाले टागिएका छन् । जसले गर्दा दिक्तेल बजारको रुप हराउदै गएको छ । बजार क्षेत्र रत्नपार्क (किराँत चोक) देखि हाडडाँडा सम्म नै जथाभावी तारहरु टागिएका छन् । कतिपय ठाउँमा तारले तल सडकसम्म छुन लागेकाले सवारी साधन आवतजावतदेखि सडकमा काम गर्नसमेत समस्या भएको स्थानीय विशाल राउत बताउँछन्

लामो समयदेखि बजारभरी छरपस्ट तार हुँदापनि सम्बन्धित निकाय भने मौन बसेका छन् ।छरपस्ट तारको बोझले कतिपय विद्युतका पोलहरु बांगिएका छन् भने कतिपय पोलहरु भाँचिन समेत लागेका छन् । तारको व्यवस्थापन नहुँदा बजारको सुन्दरता हराउनुका साथै जोखिम पनि उत्तिकै बढ्दै गएको स्थानीयबासीहरु बताउछन् ।
मन्दिरमा टागिएको धजाजस्तै सडकदेखि २० मिटर लामो पोलभरी तार, जथाभावी सडकमा सवारी साधन पार्किङले अहिले दिक्तेल बजारको रुप हराएको प्रष्टै देख्न सकिन्छ । बजार क्षेत्रमा विद्युतका तारहरु पनि छरपस्ट देखिएका छन्, तर टेलिकम र नेटका तारहरु धेरै र अव्यवस्थित तरिकाले टागिएका कारण ठाउँ ठाउँमा पोलहरु नै भाँचिन लागेका छन् । यता, नगरपालिकाका प्रमुख तिर्थराज भट्टराईका अनुसार निर्वाचित भएर आएको १५ दिनमै तार व्यवस्थापनकालागि नेपाल विद्युत प्राधिकरण दिक्तेल र नेपाल टेलिकमको कार्यालय दिक्तेललाई पत्रचार गरिएको हो । तर, अहिलेसम्म उक्त निकायहरु तारको व्यवस्थापनमा नलागेको उहाँको भनाइ छ । विद्युत प्राधिकरण दिक्तेलका प्रमुख विजय रेग्मी भने विद्युतको भन्दा पनि टेलिकम र नेटको लापरबाहीले यो अवस्था आएको बताउनुहुन्छ ।
‘बजार क्षेत्रमा नभएको हैन विद्युतका तारहरु पनि छरपस्ट देखिएका छन्, तर टेलिकम र नेटका तारहरु धेरै र अव्यवस्थित तरिकाले टागिएका कारण ठाउँ ठाउँमा पोलहरु नै भाँचिन लागेका छन् । टेलिकमले पुरानो तार हटाउने र नेटले पनि सिमित तार टाग्ने हो भने समस्याको समाधान हुन्छ ।’ प्रमुख रैग्मीले भन्नुभयो । नेपाल टेलिकमले टागेका पुराना प्रयोग विहिन तारहरु पनि पोलमा रहेका छन् । केही समय पश्चात फाइबर तार एउटा वा दुईटा मात्र टागेर अन्य तार हटाइने टेलिकम कार्यालय दिक्तेलका प्रमुख खगेन्द्र बलम्पाखीले बताउनुभयो ।