बाम-लोकतान्त्रिक गठबन्धन बिरुद्ध कांग्रेस नेताले दिए उम्मेदवारी

खोटाङ । खोटाङमा गठबन्धन बिरुद्ध कांग्रेसले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ । प्रतिनिधिसभा माओवादी केन्द्र, प्रदेशसभा (क) नेकपा (एकीकृत समाजवादी) र प्रदेशसभा (ख) कांग्रेसको भागमा परेपछि असन्तुष्ट कांग्रेस नेताले आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

गठबन्धनको टिकट वितरणप्रति असन्तुष्टी जनाउँदै पूर्वसांसद एबं पूर्व राज्यमन्त्री सर्वधन राईले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा (क) मा पूर्व सभापति सुवासकुमार पोखरेल र ख मा पूर्वउपसभापति धर्मराज पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीहरुले गठबन्धन अन्तरगत नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई (पासाङ) र प्रदेशसभा ‘क’ मा उठेका नेकपा (एकीकृत समाजवादी) का बीरबलकाजी राई विरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

गठबन्धनबाट प्रदेशसभा ‘ख’ मा उठेका नेपाली कांग्रेसका भूपेन्द्र राई विरुद्ध भने स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छैनन् । यद्यपी, उनीहरुले आफ्नो स्वतन्त्र उम्मेदवारलाई सहयोग गरे मात्र गठबन्धनबाट प्रदेशसभा ‘ख’ मा टिकट पाएका भूपेन्द्रलाई सहयोग हुने संकेत गरेका छन् ।

स्थानीय तहको मतपरिणामको आधारमा एक प्रतिनिधिसभा वा दुई प्रदेशसभामध्ये एक पाउनुपर्ने माग सुनुवाई नभएकाले स्वतन्त्र उम्मेदवारी दिनु परेको कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले बताए । गठवन्धन जोगाउने नाममा नेकपा (एस) लाई प्रदेशसभा (क) दिँदा गठबन्धन सुरक्षित नहुने र प्रतिगमन पनि रोक्न नसकिने असन्तुष्ट पक्षको दावी छ ।

रोचक पक्ष त के छ भने प्रदेश सभा ‘क’ मा कांग्रेसका असन्तुष्ट पक्षका दुई नेताले एकै क्षेत्रमा मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय सँगै पुगेका पोखरेलद्धयले एकैठाउँमा उम्मेदवारी दर्ता गरेको विषयलाई चासोका साथ हेरिएको छ । कतिपयले ‘बागी विरुद्ध अर्को बागी’ उठे/उठाइएको अर्थ लगाइरहेका छन् भने कतिपयले एक जनालाई ‘व्याक’ गर्नेगरी एकैठाउँमा दुई जनाको मनोनयन दर्ता गरिएको अनुमान गरिरहेका छन् ।

आगामी २६ असोजसम्ममा दुई मध्ये एकलाई ‘व्याक’ गरिने सभापति राईले बताए । केन्द्रको निर्णय अनुसार जिल्लामा गठबन्धनको उम्मेदवार मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको केही समयपछि कांग्रेसको विद्रोही पक्ष मनोनयन दर्ता गर्न पुगेका थिए ।