शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा सुचारु

खोटाङ, । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा सुचारु भएको छ । एनेस्थेसिया सहायक ९अपरेशन गर्दा बिरामीलाई बेहोस बनाउने कर्मचारी० अस्वस्थ भएर उपचारमा बसेका कारण अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा झण्डै महिना दिन बन्द भएको थियो ।

एनेस्थेसिया सहायकको अनुपस्थितिमा गत २६ भदौदेखि बन्द रहेको शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा २१ असोजबाट सुचारु भएको हो । जिल्ला अस्पतालमा इमरजेन्सी केसमा बाहेक अन्य समय शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गरिएको थियो ।

जिल्ला अस्पतालमा एक एनेस्थेसिया सहायकको दरबन्दी छ । कार्यरत एनेस्थेसिया सहायकको दुर्घटनामा खुट्टा भाँचिएर उपचारमा बस्नु परेकाले शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गर्नुपरेको जिल्ला अस्पतालले जनाएको छ । शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका थिए ।