खोटाङमा निर्वाचन आचार संहिता उल्लंघन सम्वन्धी उजुरी दर्ता

खोटाङ, २४ कात्तिक । मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङमा निर्वाचन आचार संहिता उल्लंघन सम्वन्धी दुई उजुरी परेको छन् । निर्वाचन आचारसंहिता उल्लंघन गरी चुनावी कार्यक्रम गरेको भन्दै माओवादी केन्द्रका नेता जमानसेर राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष लिलाकुमार चौहानसहित १० जना विरुद्ध कारबाहीका लागि उजुरी दिएका छन् ।
वडा कार्यालयको प्रांगणमा अन्नपूर्ण माबि बन्द गराएर शिक्षक र विद्यार्थीलाई सहभागी गराएर एमालेको चुनावी कार्यक्रम गरेको भन्दै वडाध्यक्ष चौहान, वडा सदस्य पदमकुमारी राई, हरिकुमार खत्री, फडिन्द्र श्रेष्ठ, लक्ष्मी बिक, अन्नपूर्ण माबिका प्रअ रेखादेबी बस्नेत, शिक्षक गोपाल राउल, शिक्षक रामकुमारी राई, श्यामकुमार फुयाल र शहरी स्वास्थ्य केन्द्रका अहेव सुशिला देउजा विरुद्ध कारबाहीका लागि उजुरी परेको हो
। एमालेले शिक्षकमार्फत चुनावी कार्यक्रम सञ्चालन गरेको उजुरीमा दावी गरिएको छ । एमालेले गत कात्तिक १८ गते दोर्पाचिउरीडाँडामा प्रदेशसभा (ख)का उम्मेदवार रामप्रसाद दंगाल, नेतृ उषाकला राई, नेता दिपनारायण रिजाल लगायतको उपस्थितिमा चुनावी कार्यक्रम गरेको थियो ।
यस्तै, एमालेका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार विरुद्ध निर्वाचन आचार संहिता विपरित सामाजिक सञ्जाल र अनलाईनमा भ्रामक, कपोलकल्पित, वैयक्तिक लाञ्छनायुक्त एवं दुराग्रहपूर्ण प्रचार सामग्री राखेर प्रचार–प्रसार गरेको भन्दै एमाले नेता देवबिक्रम राईले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन्
। उजुरीमा भ्रामक, कपोलकल्पित, नितान्त वैयक्तिक लाञ्छनायुक्त एवं दुराग्रहपूर्ण प्रचार सामग्री राखेर प्रचार–प्रसार गर्ने व्यक्ति तथा अनलाईन सञ्चार माध्यममाथि आवश्यक कानूनी कारबाही अगाडि बढाइदिन माग गरिएको छ । कात्तिक १५ गते दिइएको उजुरीमा ‘प्रमाणका लागि त्यस्ता सामग्रीहरुको छायाँप्रति निवेदनका साथ संलग्न गरिएको’ भनिए पनि व्यक्तिको नाम उल्लेख गरिएको छैन ।
उजुरीका बारेमा कोलेनिका प्रमुख एबं निर्वाचन आचार संहिता अनुगमन अधिकृत मानबहादुर मगरमार्फत छानविन भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए । उजुरी परेको आधारमा सामाजिक सञ्जालममा राखिएका सामग्री हटाउन लगाउने, जवाफ माग गर्नेदेखि थप छानविनका लागि निर्वाचन आयोग समक्ष सिफारिस गर्ने लगायतका प्रकृया अघि बढाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।