खोटाङ: १४ उम्मेदवारले बुझाए निर्वाचन खर्च, ८ जनाले बुझाउन बाँकी

 

खोटाङ । खोटाङमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उठेका १४ उम्मेदवारले निर्वाचन खर्च बुझाएका छन् भने ८ जनाले बुझाउन बाँकी रहेको छ ।

शुक्रबार सम्ममा प्रतिनिधिसभा सदस्यतर्फका पाँच, प्रदेशसभा (क)का पाँच र प्रदेशसभा (ख)तर्फका चार उम्मेदवारले निर्वाचन खर्च बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण बुझाइसक्नु पर्ने व्यवस्था रहेको छ ।

हालसम्म प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार बिशाल भट्टराईले १० लाख ९३ हजार, नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राईले १७ लाख ३३ हजार, राप्रपाका उम्मेदवार सर्जु श्रेष्ठले आठ लाख ८२ हजार पाँच सय, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार भोजराज बस्नेतले नौ हजार र आमुल परिवर्तन मसिहा पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार चन्द्रमणि राईले २५ हजार खर्च भएको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी लोकेन्द्र राईले जानकारी दिएका छन् ।

यस्तै, प्रदेशसभा (क)तर्फ एमालेका उम्मेदवार पाँचकर्ण राईले नौ लाख ८५ हजार, नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बिरबलकाजी राईले २० लाख ५५ हजार, नेकपा (माक्र्सवादी लेलिनवादी)का पदमप्रसाद आचार्यले ५० हजार, मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार प्रयाग राईले एक लाख एक हजार ७०० र नेपाल मजदुर किसान पार्टीका केशव राईले पाँच हजार खर्च भएको विवरण पेश गरेका छन् ।

प्रदेशसभा (ख)तर्फ एमालेका उम्मेदवार रामप्रसाद दंगालले पाँच लाख ८९ हजार, कांग्रेसका उम्मेदवार भूपेन्द्र राईले १९ लाख ४१ हजार पाँच सय, जसपाका प्रदेशसभा प्रेमकुमार राईले दुई लाख आठ हजार र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले एक हजार निर्वाचन खर्च बुझाएका छन् ।

अन्य उम्मेदवारहरुले भने निर्वाचन खर्च बुझाउन बाँकी रहेको कार्यालयले जनाएको छ ।