सिम्पानीमा एमबीबीएस डाक्टरको सेवा

ललित राई खोटाङ: १७ पुस
खोटेहाङ गाउँपालिका वडा नम्बर ८ सिम्पानी मिलडाँडामामा एमबीबीएस डाक्टरहरूद्वारा स्वास्थ्य सेवा शुरू गरिने भएको छ।

सिराहा ,सप्तरी लगायत विभिन्न ठाउँहरूबाट आउनुभएका डाक्टरहरूद्वारा स्थापना गर्न लागिएको नयाँ हस्पिटलमार्फत माघ महिनाबाट स्वास्थ्य सेवा शुरू गर्न लागिएको हो।

स्थानीय शिव खड्काको आवास गृह भएको ठाउँमा निर्माण गर्न लागिएको हस्पिटलमार्फत २४ सै घण्टा इमर्जेन्सी सेवासहित एक्स रे,भिडियो एक्सरे, प्याथोलोजी,इसिजी,फार्मेसी,डेन्टल लगायतको सेवा उपलब्ध गराइने बताइएको छ।

प्राईभेट लिमिटेड अन्तर्गत शुरू गर्न लागिएको हस्पिटलमा जेनेरल मेडिसियन डा. आलोक ठाकुर, ल्याब टेक्निसियन नरेश चौधरी,फार्मेसिस्ट अनिल मेहता लगायतको सेवा रहने हस्पिटलका दन्त चिकित्सक डा. सन्तोष मेहताले बताउनुभयो। उहाँका अनुसार जनशक्तिहरूमा नोबेल मेडिकल बिराटनगर,बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगायतको ठाउँहरूमा काम गरेको अनुभव रहेको छ।

केही महिनाअघि नोबेल मेडिकलमा कार्यरत रहदा यस भेगका एक बिरामीको थोरै समय उपचारमा ढिलाइ भएको कारण ज्यान गएको घटनाबाट दु:खी भई हस्पिटल खोल्न अभिप्रेरित भएको डा. मेहताको भनाई छ। सहुलियत मुल्यमा उपचार सेवा प्रदान गरिने उहाँले बताउनुभयो। खोटेहाङ गाउँपालिकामा पहिलोपटक यसरी हस्पिटल स्थापना गर्न लागिएपछी स्थानियहरू खुशी भएका छन।

” गाईघाट ,बिराटनगर जादा लाग्ने समय र पैसाको बचत हुनेभयो। उपचारको अभाबमा अकालमा मर्नुपर्ने बाध्यता हट्नेभयो।”, स्थानीय गणेश खड्काले भन्नुभयो। सिम्पानीमा स्वास्थ्य चौकी रहेपनी जटिल स्वास्थ्य समस्याको उपचारको लागि ५ घण्टा बसमा हिँडेर उदयपुरको गाईघाट पुग्नुपर्ने बाध्यता रहेको छ। अस्पताल स्थापनापछी खोटेहाङसँगै दिप्रुङ चुइचुम्मा र बराहपोखरी गाउँपालिकाका केही भागका जनताहरू स्वास्थ्य सेवाबाट लाभान्वित हुने छन् ।