प्रभु बैंकको खोटाङका ब्राञ्च मेनेजर होमराज खतिवडा ग्राहको पैसा सापटी मागेर फरार

खोटाङ, ६ चैत ( दिक्तेल शाखा, प्रभु बैंकको खोटाङका ब्राञ्च मेनेजर होमराज खतिवडा दर्जनौंको व्यक्तिको पैसा सापटी लिएर फरार भएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका खतिवडाले दर्जनौं व्यक्तिको पैसा सापटी चिनजानका साथीभाईसँग लाखौं पैसा सापटी लिएका खतिवडा फागुन १ गतेदेखि सम्पर्क विहिन बनेका हुन् ।
माघ मसान्तसम्म बैंकको शाखा कार्यालयको सम्पर्कमा रहेका खतिवडा एकाएक बेपत्ता भएका हुन् । खतिवडाले एकै व्यक्तिबाट १६ लाखसम्म सापटी लिएको चर्चा छ । खतिवडाले कतिपयलाई चेक दिएर पैसा सापटी लिएको पाइएको छ । उनले खातामा पैसा भएको ग्राहकलाई छानेर पैसा सापटी माग्ने गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर बिश्वकर्माले बताए ।
खतिवडाले बिश्वकर्माबाट केही दिनमा फिर्ता गर्नेगरी भतिजोलाई अष्ट्रेलिया पठाउन तयार पारेको ६ लाख सापटी लिएका थिए। उनले खातावालाकै नाममा चेक काट्न लगाएर बैंकबाट पैसा झिक्ने गरेको बिश्वकर्माले बताए। “मेरो ओडी खाता हेर्नु भएछ र तीन लाख सापटी मागेपछि दिएँ। चार पाँच दिनपछि फेरी बोलाउनुभयो। फेरी तीन लाखको चेक लैजानु भयो,” बिश्वासले आफ्नै नाममा चेक काटेर दिएँ। अहिले आएर फसेँ ।” खतिवडा सम्पर्क विहिन बनेपछि उनलाई पैसा सापटी दिएका स्थानीय फसेको भन्दै अत्तालिएका छन्।

खतिवडाले चिनजानका व्यक्तिबाट करोड बढीको हाराहारीमा पैसा सापटी लिएको अनुमान गरिएको छ। खतिवडाले व्यापारीदेखि आफ्नै सहकर्मीसँग पनि पैसा सापटी लिएको बताइएको छ। सम्पर्क गर्दा खतिवडाको मोबाइल नम्बर अफ छ। उनले बैंकको रकम भने छोएका छैनन्।

ब्राञ्च मेनेजर खतिवडा सम्पर्क विहिन बनेको केही समयपछि प्रभु बैंकले सो स्थानमा दिपक खत्रीलाई पठाएको छ। यद्यपी, खतिवडा सम्पर्क विहिन बनेको विषयमा प्रभु बैंकको आधिकारिक धारणा आएको छैन । केन्द्रीय कार्यालयमा सम्पर्क गर्दा पत्रकारलाई कोशी प्रदेश कार्यालयमा सम्पर्क भनियो । प्रदेश कार्यालयका प्रमुख बद्री कट्वालको फोन उठेन। पिडित पक्ष सापटी पैसा फिर्ताका लागि प्रहरीलाई गुहार्ने छलफलमा जुटेका छन्। पैसा सापटी लिएको विषयमा पिडितको उजुरी वा कुनै गुनासो नआएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारुङले बताए ।