लघुकथा   

लघुकथा
” करेन्ट”
देशले संघिय  लोकतान्त्रिक गणतन्त्रात्मक स्वरूप प्राप्त गरेसँगै गाउँगाउँसम्म सिंहदरवारको गुन्जायस हुँदै थियो। मुलुकमा संविधान जारीभएपश्चात दुई पटक स्थानीय निर्वाचन भइसकेको थियो भने देशमा बिकासका लहर बिस्तारै बढिरहेको थियो। सहरमा मात्र होइन गाउँ गाउँ पहाड कन्दराहरूमा पनि उज्यालो पुर्याउनुपर्छ भन्ने अभियान चल्दै थियो। देशका सम्पुर्ण भुभागहरूमा राष्ट्रिय लाईन पुर्याउने सरकारको लक्ष्य बिस्तारै कार्यन्वयन हुँदै गइरहेको थियो।
यही समयखण्डमा बाबुलाल थारू बिदेशबाट स्वदेश फर्किएको थियो। बाबुलाल एक ज्यालादारी मजदुर- इलेक्ट्रोनिक कामहरूमा धेरै दख्खल राख्थ्यो। उदयपुर हडिया नजिकै उसको एउटा सानो घर थियो। परिवारमा श्रीमती ,दुई छोरीहरू अनि एउटा सानो छोरो थियो। बिदेशको टन्टलापुर घाममा जति काम गरेपनी कमाई संतोषजनक भएन अनि  ऊ स्वदेश फर्कियो। ऊ आफ्नो जहान बालबच्चा पाल्नको लागी बिजुलीको काम गर्दथ्यो। हाउस वायरीङ,बिजुली जडान, रिपेरीङ ,रिकण्डीसनीङ ऊ सबै काम गर्दथ्यो। यसैबाट  आएको ज्यालाले बालबच्चाहरू पढाएको थियो। ”   निकसे पढ्हे परतौ।हम  तँ नै पैढके दु:ख पाबलियै।”(राम्रोगरी पढ्नुपर्छ है ,म त नपढेर दु: ख पाएँ)ऊ आफ्नो बालबच्चाहरूलाई  अक्सर सम्झाईरहन्थ्यो। “बढी दुखके काम” (सारै दु:खको काम),बिजुलीको अग्लो पोलमा चद्दै गर्दा बाबुलाल आफ्नो जहान छोराछोरीलाई निकै सम्झिन्थ्यो। खुईया गर्दै निधारभरी आएको पसिना पुछ्थ्यो अनि
आफ्नो छोरो इन्जिनियर भएको कल्पना गर्दै भित्रभित्रै मुस्कुराउथ्यो। बाबुलाल बाहिर काममा निस्केको दिन उसको बालबच्चाहरू उसको बाटो हेर्दै पिँढीमा ब्यग्रताका साथ कुरीरहेका हुन्थे।यसो हुनुको पछाडी एउटा कारण थियो- ऊ बिजुलीको काम गर्न निस्केको दिन मासु लिएर फर्केको हुन्थ्यो।बेलुका परिवारसँग बसेर मीठो मसिनो खादा उसलाई दिनभरीको थकाई मेटिन्थ्यो।
यसैगरी बाबुलाल थारूको सामान्य परिवार चलिरहेको थियो। त्यो सालको दशैँ जेनतेन टर्यो। श्रीमतिको पाउजु अनि छोरीको साईकल बेचेर दशैँ खर्च टारेको थियो थारू परिवारले।”दोसर नयाँ साइकल किनदेबौ है,यीता बेच। (अर्को नयाँ साईकल किनिदिने है,यो बेचौं), बाबुलालकी श्रीमती सजनाले छोरी नदनीलाई फकाएकी थिईन। तिहार नजिक नजिक आईरहेको थियो। बालबच्चाहरू हातको औँला भाँच्दै दिनहरू कुरीरहेका हुन्थे भने बाबुलाल घरवरको ढुङ्गामा बसेर लोलाइरहथ्यो।” अब कसरी तिहार टार्नु,बालबच्चालाई तिहार मनाईदिनु, बहिनीहरूलाई टका दिनु?”, सोचिरहथ्यो। हडिया बजारमा  तिहारको रौनक सुरू भइसकेको थियो। तिहारको सामान किनमेल गर्ने मानिसहरूको भीड बढ्दै थियो। गएको शनिबारे हाटमा बाबुलाल र उसकी बहिनी शकुन्तलाको भेट भयो।शकुन्तलाले भनीन-” भैइयाके आपन हातसे भाइटिका नै लग्याल बौहत बरस भेलै।यी बरस त बौहत मनगर चियैँ।”(दाजुलाई आफ्नो हातबाट भाईटिकामा टीका नलगाईदिएको धेरै बर्ष भयो।यो पाली त धेरै खुशी छु।) बहिनीकी छोरी नबिनाले पनि भनिन-“मामा,हमरा कतहेक पैसा देबिही?”( मामा मलाई कति पैसा दिनुहुन्छ?), बाबुलाल बनावटी हाँसो मात्र हाँसिरह्यो।
कागतिहारको शुरूवातसँगै सबैको घरघरमा तिहार भित्रियो। घरघर झिलिमिली हुन थालिसकेको थियो।लक्ष्मी पुजाको दिनबाट सबैजना देउसी भैलो खेल्न जानआउन थाले।बाबुलाल भने यताउता बिजुलीको काम पाउने आशामा भौतारीरह्यो। वरपर कन्ट्याक्ट गरे – कसैले बिजुलीको काम छ भनेनन। ” त्यस्तो थाहा भए भनौँला है।” प्राय मानिसहरू यसै भन्थे। भाईटिकाको अघिल्लो दिन बेलुकीपख  बाबुलाल घोरिएर बसिरहेको थियो। भोलि बिहानै बहिनी ज्वाईं भान्जी टीका लगाईदिन आउने कुरा छ। दक्षिणा दिने पैसा छैन, के गरौँ भइरहेको थियो उसलाई ।यत्तिकैमा उसको किप्याडवाला मोबाइलमा रिङ्टोन बज्यो।उसले तल्कालै उठायो।उताबाट आवाज आयो-” उदयपुरगढी-४ जल्केनी भन्ने ठाउँमा लाईन जोड्नुछ,भोलि बिहानै भ्याउछौ?”
ऊ खुशी हुँदै भ्याउने कुरा गर्यो। आफुलाई रिरिभ गर्न मान्छे आउने कुराले ऊ निकै द्रवीभूत भयो।
=======================================
भोलिपल्ट बिहानै, जल्केनीबाट उसलाई लिन मानिस आयो।ऊ आफ्नो श्रीमती अनि छोराछोरीलाई काम सकेर चाँडै आईहाल्छु है  भन्दै बाहिरियो।” हम कथी कथी लाबाऔ? कथिके मासु खाइले मन लागेछौ?”( म के के ल्याम? के को मासु खान मन छ?)
सबै छोराछोरीले एउटै स्वरमा भने-“खसिके बाबू” (खसीको बाबा।”ऊ त्यहाँबाट चाँडै आउने आश्वसन दिदै जल्केनीतर्फ बाईकपछाडी बसेर हुइँकियो। केही घण्टापछी ऊ जल्केनी पुग्यो। त्यहाँको राईसमुदायले उसलाई धेरै खातिर गर्यो, खाना खाएर मात्र काम गर्न अनुरोध गर्यो तर बाबुलाल मानेन।उसले भन्यो- ” अलिक हतार छ,काम गरेर खाउँला न ,घरमा जहान छोराछोरी कुरेर बसिरहनुभाछ।”ऊ हत्तारिदै पोल भएठाउँ पुग्यो।उसको मनमा मात्र यी कुराहरू खेलिरहेको थियो-” कतिखेर काम सकेर पैसा पाउनु,त्यो पैसाले मासु लानु,बहिनीलाई दक्षिणा दिनु!” त्यही बेला बिजुली लाईन गयो। यही मौका हो भन्दै ऊ हत्तपत्त पोल पस्न थाल्यो। ” पहिले लाईन काट्न लगाउनुपर्छ।” छेउमा रहेको स्थानीयले प्रस्ताब गर्यो।तर उ कुरा सुन्दै नसुनी छिटोछिटो पोल चढ्न थाल्यो।” मैले फोन पर घरमै छोडेछु,पर्दैन।”
माथी ३२ हजार भोल्टको बिजुली सप्लाई  भइरहेको थियो।ऊ  पूर्ण बिश्वासको साथ पोल माथी उत्रियो।उसलाई स्विच कता हो भन्ने कुरा नी थाहा भएन।दुर्भाग्यबश त्यही बेला लाईन आयो।जोशको बेला होस गुमाउनु भनेझैँ उसको टाउको थोरै मात्र त्यो नाङ्गो तारमा टच भएछ- उसलाई करेन्टले च्याप्प तान्यो अनि निकैबेर वरपर दह्रोसाथ घुमायो। उसले गुहार भन्नेसम्म सामर्थ्य राखेन।जल्केनी डाँडा नै उज्यालो हुने गरि निस्केको आगोले उसको प्राणपखेरू उडिसकेको थियो। अन्त्यमा ढुकढुकी पुरै बन्द गराएर बाबुलाललाई करेन्टले तल जमिनमा फालिदियो।
पारीपारी देउसी खेल्न हिँडेको समुहको डेगहरूमा डिजे सङ चर्को चर्को बजिरहेको थियो।वारि जल्केनी डाँडामा मानव हृदय नै छियाछिया गराउने गरि एक बेखवर लास लडिरहेको थियो।उताबाट तारन्तार फोन आईरह्यो-” दाई कतिखेर आउनुहुन्छ त? यहाँ टीका लगाइदिन पर्खिराखेको छु,चाँडै पठाइदिनु है।”
लेखक   -ललित राई “आशय”
उदयपुरगढी-४,उदयपुर
हाल: खोटेहाङ-८,सिम्पानी,घिमिरेगाउँ,खोटाङ।
( यस कथामा समाबेश  बिषयबस्तु र घटनाक्रम  काल्पनिक ढंगबाट परिस्कृत गरिएका छन। कसैको जिन्दगीसँग मेल खान गएमा संयोग मात्र हुनेछ।)