पवित्रा बनिन् बतासे आईडल सिजन टु

मंसिर १२ बुधवार, २०७५
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका”४ बतासेमा भएको ‘बतासे आईडल सिजन टु’ प्रतियोगितामा पवित्रा राई प्रथम विजेता बनेकी छन् । बतासेभित्रका विद्यालयमा अध्ययनरत १७ बर्ष मुनिका विद्यार्थीहरुबीचमा जनता माध्यमिक विद्यालय भण्डारीडाँडा बतासेकोे प्रांगणमा मंगलवार भएकोे बतासे आईडल सिजन टु को फाईनल अडिसनमा टप ३० मा परेका २९ जना प्रतिष्पर्धीलाईपछि पार्दै पवित्रा विजेता बनेकी हुन । बिजेता राईले नगद ८ हजारको साथमा ट्रफी, डिक्स्नेरी किताब र प्रमाणपत्र हात परेकी छन् ।

प्रतियोगितामा फास्टरनर ऐनिसा परियार, सेकेण्ड रनर सुजनकुमार राई र थर्डरनर सन्जा राई भएकी छन् । उनीहरुले क्रमशः २ हजार नगदसहित मेडल, डिक्स्नेरी किताव र प्रमाणपत्र, १ हजार ५ सय नगदसहित मेडल, सामान्य ज्ञानको किताब र प्रमाणपत्र र १ हजार नगदसहित मेडल, सामान्य ज्ञानको किताब र प्रमाणपत्र प्राप्त गरेका छन् ।

ग्रामीण सेवा समाज बतासे खोटाङको आयोजना तथा राजदेश राईको प्रायोजनमा मंसिर ५ गतेबाट सुरु भएको बतासे आईडल सिजन टु का बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । गाउँ–गाउँमा लुकेर रहेका नयाँ गायन प्रतिभाहरुको पहिचान, संवर्धन र विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको बतासे आईडल सिजन टु पहिलो छनौट राउण्ड, दोस्रो प्रवेशिका राउण्ड, तेस्रो डेन्जर राउण्ड र चौथो फाईनल राउण्ड गरी चार राउण्डमा प्रतियोगिता गरिएको थियो ।

प्रतियोगितामा गायक तथा संगीतकार तोरेम्पा हाङ्ग, शुवास सर्जन र नृत्य निर्देशक सूर्यकिरण राईले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा निवन्ध लेखन, हाजिरीजवाफ, अभिनय र नृत्य प्रतियोगिता पनि गरिएको थियो ।