रोयल ईस्टर्न ईन्फिल्डर्स मोटरसाइकल गर्‍यो दिक्तेलका विभिन्न ठाउँको भ्रमण

 

खोटाङ । चोमोलुङमा राइड २०२३ नामक यात्रामा निस्किएको रोयल इस्टर्न इन्फिल्डर्स मोटरसाईकल क्लव धरानको टोलीले दिक्तेलका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण भ्रमण गरेको छ ।

जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा गत असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा आयोजना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीको प्रभाव स्वरुप नगरपालिकाको अगुवाईमा रोयल ईस्टर्न ईन्फिल्डर्स मोटरसाइकल क्लब धरानका ३० जनाको राईडर्स टोलीले बिहीवार दिक्तेलका मझुवागढी, दिक्तेलबजार, भुलभुले लगायतका ठाउँहरुको भ्रमण गरेको हो।
बिभिन्न सञ्चार माध्यम, यूटुब तथा सामाजिक सञ्जालमार्फत चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी स्वदेश तथा बिदेशका चित्रकारलाई जिल्लाबासीले देखाएको सम्मान र नगरको कार्यक्रममा स्थानीयको सहभागीता देखेर दिक्तेल आइपुगेको मोटरसाईकल क्लवका ३० जनाको टोलीले दिक्तेलका विभिन्न ठाउँको भ्रमण गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

ख्यातिप्राप्त चित्रकारले बनाएका जिल्लाका पाखा, पखेरा, जंगल, खोल्सा, खोल्सी, खोँच, लेक, वेसीका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीहरु, पर्यटकहरुप्रती यहाँका समुदायले देखाएको सम्मान र नगरको स्थानीय वासिन्दाको सहभागिता र सहकार्यताको उच्च नमुना देखेर प्रभावित भएको भन्दै आन्तरिक पर्यटनको सम्भावना पहिचान र प्रवर्द्धनमा टेवा दिने उद्धेश्यले राईडर्स टोली दिक्तेल आएको हो ।

एकसय भन्दा धेरै धरानेहररू आबद्ध रहेको यस संस्थाले विभिन्न समयमा सडक दुर्घट्ना न्यूनिकरण गर्न ट्राफिक सचेतना, पर्यटन प्रवर्द्धन, युवाहरुमा लागुऔषध दुर्व्यसन न्यूनिकरण सचेतना कार्यक्रमका साथै विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । यसका अतिरिक्त यस समुहले विभिन्न प्याकेज टुर तथा आन्तरिक पर्यटनको सम्भावना पहिचान र प्रवर्द्धनमा टेवा दिँदै आएको छ ।