दिक्तेलबजारमा अव्यवस्थित टाँगिएका तारहरु हटाउन नगरको नेतृत्वमा अनुगमन

 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा विद्युत, टेलिफोन नेटजस्ता कार्यमा जडान गरिएका तारहरु बजार क्षेत्र तथा सार्वजनिक स्थलहरुमा अव्यवस्थित टाँगिएका तारहरु हटाउनका लागि अनुगमन गरिएको छ । बजारक्षेत्र तथा सार्वजनिक स्थलहरुमा तारका लठ्ठाहरु झुण्डिएर कुरुप देखिनुका साथै करेन्ट लागेर दुर्घटनासमेत हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै अनावश्यक तार हटाउनका लागि सोमबार अनुगमन गरिएको हो ।

बजारक्षेत्रमा प्रयोगमा आएका भन्दा नआएका तारका लठ्ठाहरु धेरै भएकाले पनि बजारको सौन्दर्यतामा असर गरेकोले अनावश्यक तारहरु हटाउने र त्यसलाई व्यवस्थित गर्ने कार्यमा नगरपालिकाले प्रक्रिया अघि बढाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले बताए ।

हामीले सबै सम्बन्धित सेवाप्रदायक कम्पनीलाई बोलाएर अनुगमन गरेका छौँ, नगरप्रमुख भट्टराईले भने–सडकको माथि वा दायाँबायाँ लत्रिएका तारले बजारको सौन्दर्यलाई कुरुप बनाउनाका साथै आगलागी हुनसक्ने सम्भावना पनि उत्तिकै बढेको छ, जुनसुकै बेला अप्रिय घटना घट्न सक्छ यी कुरालाई मध्यनजर गर्दै प्रयोगमा नरहेका तार तथा अव्यवस्थित रुपमा टागिएका तारहरु तत्काल हटाउन निर्देशन दिइसकेका छौ। सेवा प्रदायक कम्पनीले भोलिबाटै तार हटाउने काम शुरु गर्नु हुन्छ ।”

पहिलो चरणमा रत्नपार्कदेखि हाडाँडासम्म अव्यवस्थितरुपमा टागिएका तारहरु हटाइने र क्रमश अस्पताल चौक आसपासका क्षेत्रमा जथाभावी टागिएका तार हटाइने नगरपालिकाले जनाएको छ । सेवाप्रदायकले तत्काल जथाभावी झुण्याइएका तारहरु नटाए नगरपालिकाले हटाउँछ र सो बाट लागेको खर्चसमेत संम्बन्धित पक्षबाट नगरपालिकाले अशुल उपर गर्छ, प्रमुख भट्टराईले भने ।

नगरपालिकाले सम्बन्धित सेवा प्रदायक कम्पनिलाई गत असोज ३० गते अनावश्यक तारहरु हटाउन पत्र लेखी पठाएको थियो । नगरपालिकाको निर्देशन पछि नेपाल टेलिकमको कार्यालयले आज ९सोमवार० बाट दिक्तेलस्थित भानुचौक देखि त्रिबेणीचौकसम्म अनावश्यक तथा प्रयोगमा नआएका तारहरु हटाउने काम शुरु गरिसकेको छ भने अन्य सेवा प्रदायाकले भने मंगलबारबाट काम शुरु गर्ने बताइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख भट्टराई, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्का, नगरप्रवक्ता एवम् वडा नंं ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरे, वडा १ दिक्तेलका वडाध्यक्ष नवराज राई, उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजन आचार्य, नेपाल विद्युत प्रधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख, नेपाल दुरसञ्चार प्राधिकरण ९नेपाल टेलिकम० शाखा खोटाङका निमित्त प्रमुख, टेकमाइण्ड नेटवर्क र सुबिसु इन्टरनेटका प्रतिनिधि लगयतले रत्नपार्कदेखि हाटडाँडासम्म संयुक्त अनुगमन गरेका थिए ।