देशको रक्षा गर्न एमालेको सरकार आवश्यक केपी ओली

 

खोटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको रक्षा गर्न एमालेको सरकार आवश्यक बताएका छन्। झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत मंगलबार पार्टीको ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशको रक्षा गर्न सक्ने भन्दै अब दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको एक बहुमतको सरकार आवश्यक रहेको बताएका हुन् ।

उनले आगामी चुनावमा एकल बहुमत ल्याएर एमालेले सरकार बनाउने लक्ष्य राखेको बताए। अध्यक्ष ओलीले देशमा राजनीतिक स्थिरता, विकास र सुशासनका लागि एमालेको सरकार अपरिहार्य भइसकेको बताए। विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्रको समस्या समाधान गर्ने काम एमाले बाहेकका जुनकुनै दलले जतिनै गठबन्धन गरे पनि सम्भव नभएको बताएका छन्।

पहिचानको नाममा भावनामा बहकिन नहुने समेत बताएका छन्। राष्ट्रिय एकता र सबल राष्ट्रनिर्माणमा सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन्। संकल्प यात्रा १३ औँ दिनमा कोशी प्रदेशको जिल्ला उदयपुरको घुर्मी हुँदै ओखलढुंगाको हर्कपुर आइपुगेको हो। यात्रा टोली आज खाटाङको दिक्तेलमा बस्ने कार्यतालिका रहेको छ ।