पुस–२२ गतेबाट ‘नेर्पा भुलभुले अन्तरवडास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता’को दोस्रो संस्करण सञ्चालन हुने

 

खोटाङ । नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङको आयोजनामा यहि पुस–२२ गतेबाट ‘नेर्पा भुलभुले अन्तरवडास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता’को दोस्रो संस्करण सञ्चालन हुने भएको छ । क्लबले मङ्गलबार दिक्तेलस्थित होटल इन्द्रेणीमा पत्रकार सम्मेलन गरेर दोस्रो संस्करण अन्तरगतका प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

 

प्रतियोगिताका विजेताले नगद रु एक लाख ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद रु ७५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव वीरेन गुरुङले जानकारी दिनुभयो ।

‘खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको संसारीडाँडास्थित क्लबको आफ्नै खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सेमीफाइनलिस्ट दुईवटा टिमले नगद रु २५/२५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताका विद्यागत पुरस्कार अन्तरगत सर्व उत्कृष्ट खेलाडीले नगद रु पाँच हजार, बेस्ट कोचले नगद रु दुई हजार ५००, सर्वाधिक गोलकर्ताले नगद रु चार हजार, बेस्ट डिफेन्डरले नगद रु दुई हजार ५००, बेस्ट स्ट्राईकरले नगद रु दुई हजार ५००, बेस्ट मिडफिल्डरले नगद रु दुई हजार ५००, उदयमान खेलाडीले नगद रु दुई हजार ५०० र उत्कृष्ट गोल रक्षकले नगद रु दुई हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न १६ वटा टिमलाई सहभागी गराइने क्लबका अध्यक्ष शरद राईले जानकारी दिनुभयो ।
दर्ता शुल्क रु पाँच हजार ५०० निर्धारण गरिएको अन्तरवडास्तरीय फुटबल प्रतियोगिता चन्दा सङ्कलन र दाताको सहयोगमा सञ्चालन गर्ने आयोजकको तयारी छ । पुस–२८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र समापन प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले गर्नुहुने आयोजकले जनाएको छ ।

खेलमा सहभागी भएर बहिस्कार गरेको खण्डमा रु २० हजार जरिवाना गरिने प्रतियोगितामा दाबीबिरोध गर्न परेमा रु दश हजार धरौटी राख्नुपर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रत्येक प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने तयारी गरिएको प्रतियोगितामा समूह चरणको खेलमा रु एक हजार र सेमिफाइनलका खेलहरुमा रु दुई हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिता समापन कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रमा रहेर नेर्पा र देशका लागि योगदान पु¥याउनुहुने नेर्पाका पाँचजनालाई सम्मान गरिने आयोजकले जनाएको छ । विद्यावारिधि प्राप्त गर्नुहुने डाक्टर धनप्रसाद सुवेदी र डाक्टर रमेश रिजाल, नेपाल सरकारका शाखा अधिकृत सीताराम राई र रामकुमार आचार्य तथा एकजना अग्रज खेलाडीलाई सम्मान गर्ने तयारी गरिएको क्लबका अध्यक्ष राईले जानकारी दिनुभएको छ ।

 

यही पुस–१६ गतेसम्ममा टिम दर्ता गरिसक्नुपर्ने निर्णय गरिएको प्रतियोगितामा पहिले आउने टिललाई सहभागिताका लागि प्राथमिकता दिइने आयोजकले जनाएको छ । खेलाडी सङ्ख्या १३ जना निर्धारण गरिएको प्रतियोगितामा हरेक टिममा एकजना व्यवस्थापक र एकजना प्रशिक्षक अनिवार्य गरिएको छ ।