४२ देशका ख्यातिप्राप्त चित्रकारको उपस्थितिमा फागुन ५ देखि १७ गतेसम्म लाईभ पेन्टिङ प्रदर्शनी गरिने

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ अन्तर्गतको दोश्रो चरणको प्रदर्शनी फागुन ५ गतेदेखि १७ फागुनसम्म काठमाडौंमा गर्ने भएको छ । ४२ देशका ख्याति प्राप्त चित्रकारको उपस्थितिमा काठमाण्डौको बवरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी गरिने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

नेपालसहित १४ देशका ४४ जना ख्यातिप्राप्त चित्रकारहरुले १७ असोजदेखि २१ असोजसम्म नगरपालिका १५ वडा र अन्य नौ पालिकाको धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थललाई लाईभ उतारेको पेन्टिङ (क्यान्भास) लाई प्रदर्शनी गरिने भएको नगरपालिकाले नगरको सभाहलमा आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

यति धेरै स्वदेशी–विदेशी चित्रकारको सहभागितामा हुने चित्रकला प्रदर्शनी नेपालको इतिहासमा पहिलो कार्यक्रम हुने नगरप्रमुख भट्टराईको दाबी छ । चित्रकला प्रदर्शनी नेपाल सरकारका उच्चतम व्यक्तित्वबाट उद्घाटन र समापन गरिने योजना छ ।

पहिलो चरण अन्तर्गतको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा नेपाल, अष्ट्रेलिया, वंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट आएका चित्रकारहरुले दिक्तेलबजारको विभिन्न स्थानसहित शुभद्रा–मदन फाउण्डेसन र मझुवागढी उक्लेर लाईभ १०९ वटा क्यान्भास पेन्टिङ गरेका थिए ।

पहिलो चरणको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा नगरपालिकाको १८ लाख बजेट खर्च भएको थियो ।

पत्रकार सम्मेलनमा नगरप्रमुख भट्टराई र नगर उपप्रमुख विसन राईले १७ मंसिरदेखि ३ पुषसम्म गरेको १५ दिने मैत्रीपूर्ण दक्षिण कोरिया भ्रमणको उपलब्धि, नगरपालिकाले योजना फरफारक र सम्झौतामा सहजताका निम्ति योजना कार्यान्वयन पुस्तिका लागू गरेको, नगरको सामुदायिक विद्यालयका शिक्षाको गुणस्तर सुधार्न शैक्षिक वहस सुरु गरेको, थप योजना र दृष्टिकोण बनाएर शैक्षिक सुधारमा अघि बढ्ने,कृषिलाई व्यवसायीकार गरेर लैजाने योजना बनाईएको जानकारी दिईएको छ ।

अस्पताल चोक–खानीडाँडा–आहाले सडक निर्माण अन्तर्गत निर्माण व्यवसायी शिव चौलागाईले आर्थिक मन्दीले आफूले बजेट निकासा गर्ने अवस्था नरहेको भन्दै १० दिनका लागि स्थानीय हार्डवेयरमा भनिदिन भनेपछि नगरप्रमुखले आफ्नो व्यक्तिगत चेक दिएपछि सामान दिएको र १० दिनका लागि उधारो मागिएको सामानको पैसा ६ महिनासम्म निर्माण व्यवसायीले विवेक मर्केण्डाइज एण्ड कन्सल्ट प्रालिलाई नदिएपछि नगरप्रमुख विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने विवेक मर्केण्डाइज एण्ड कन्सल्ट प्रालिका प्रतिनिधिलाई नगरप्रमुख भट्टराई र उपप्रमुख राईले पत्रकार सम्मेलनमै फुलमाला लगाएर सम्मान गरेका थिए ।

नगरप्रमुख भट्टराईको ताकेतामा निर्माण व्यवसायी चौलागाँईले हालसालै उधारो सामान लगेको विवेक मर्केण्डाइज एण्ड कन्सल्ट प्रालिको सबै पैसा बुझाई सकेका छन् ।