अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि केपीलासगढी गाउँपालिकले ग¥यो सम्झौता

 

खोटाङ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि केपिलासगढी गाउँपालिका र करुणा फाउन्डेसन नेपालबीच सम्झौता भएको छ।गाउँपालिकामा बिहीबार गाउँपालिकाको तर्फबाट अध्यक्ष समिर राई र फाउण्डेसनको तर्फबाट व्यवस्थापक सन्तोष घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।सम्झौता पत्रमा उपाध्यक्ष गुरुराज राई, फाउन्डेसनका वरिष्ठ अधिकृत गीता त्वानावासु, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बोम बहादुर परियार र पालिका संयोजक विश्व पुरीले हस्ताक्षर गरेका छन्।

गाउँपालिकाको पूर्ण स्वामित्वमा सञ्चालन हुने कार्यक्रम माघ १ गतेबाट लागू भई २०८३ पौष मसान्तसम्म सञ्चालन हुनेछ। यस कार्यक्रमले अपाङगता भएका व्यक्तिहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निम्ति काम गर्नेछ।
अपाङ्गता भएका व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका पालिकामा करूणा फाउण्डेसनको लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रम कार्यान्वयनका लागि दुवै पक्षबाट राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, प्रदेश समितिसँग आवश्यक समन्वय र सहकार्य गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

यस्तै,अपाङ्गता भएका व्यक्तिहरूको संस्था समूह गठन र उनीहरूको सशक्तीकरण, जनचेतना साथै पहँचयुक्त भौतिक संरचना र वातावरण तय गर्नका लागि राष्ट्रिय अपाङ्ग महासंघको प्रदेश समिति र गाउँपालिकाका सबै वडामा अपाङ्गता भएका व्यक्तिहरूको संस्थाको सहयोग तथा सहजीकरणमा गर्ने, गाउँपालिकाले कार्यक्रम अवधिभर सार्वजनिक भवनहरू तथा स्थलहरूलाई सबैको पहुँचयुक्त बनाउने र आफ्नो पालिकालाई पहुँचयुक्त स्थानीय तह घोषणाको लागि पहलकदमी लिने सम्झौता गरिएको बताइको छ ।

प्रथम पक्षले सम्झौता बमोजिम कार्यक्रमको अवधि सकिएपछि प्रदेश सरकार, संघिय सरकार तथा अन्य साझेदारहरुको सहयोगमा कार्यक्रमलाई निरन्तरता दिने सम्झौता गरिएको छ ।

केपिलासगढी गाउँपालिकामा २८० जना विभिन्न प्रकृतिका अपाङग व्यक्तिहरु रहेको गाउँपालिकाले जनाएको छ। अब फाउन्डेसनले आज शुक्रबार रावाबेशी गाउँपालिका र माघ ७ गते ऐसेलुखर्क गाउँपालिकामा सम्झौता गर्नेछ। रावाबेंशी र ऐसेलुखर्क गाउँपालिकामा सम्झौता भएसँगै जिल्लाको दश स्थानीय तहमा सम्झौता सकिनेछ।