दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालन

खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाभित्रका किसानले उत्पादन गरेका कृषिउपज निःशुल्क ढुवानी गरेर बजारसम्म पुर्‍याइदिने उद्देश्यका साथ नगरपालिकाले आजदेखि औपचारिकरूपमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

पहिलो दिन वडा नम्बर ११ खार्मीमा ‘सोती बहुउद्देश्यीय कृषक समूह’ ले उत्पादन गरेका कृषिउपज निःशुल्क ढुवानी गरिएको छ ।
शुभम् फाउन्डेशनले निःशुल्क उपलब्ध गराएको पिकअप भ्यानमार्फत कृषि एम्बुलेन्स सेवा दिन शुरु गरेको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो ।
नगरपालिकाले शुरु गरेको कृषि एम्बुलेन्स लिएर नगर प्रमुख तीर्थराज भट्टराई, नगर उपप्रमुख विशन राई, कृषि शाखा प्रमुख जैसी, शुभम् फाउण्डेशनका प्रबन्ध निर्देशक सूर्यबहादुर राई लगायत खार्मी पुग्नुभएको थियो । आफूले उत्पादन गरेका कृषि उपज बिक्री गर्नका लागि ढुवानी गर्न नसक्दा कतिपय कृषक निरास भइरहेको अवस्थामा नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउनुलाई निक्कै महत्वका साथ हेरिएको छ ।