जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना गरिएको छ।

नगरवासीलाई आफ्नै गाउँमा  स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउने उद्देश्यले जनसेवा समाज नेपाल जालपाले सञ्चालन गर्दै आएको १५ शय्याको जनसेवा सामुदायिक अस्पताललाई नगर अस्पतालमा रुपान्तरण गरेर सेवासमेत प्रवाह गरिएको वडाध्यक्ष दानबहादुर राईले जानकारी दिनुभयो ।

जनसेवा सामुदायिक अस्पतालको नाममा रहेको चार रोपनी एक आना दुई दाम जग्गामा जालपाका स्थानीय बासिन्दाले २०६९ सालमा चन्दा सङ्कलन तथा श्रमदान गरेर स्थापना गरेको १५ शय्याको सामुदायिक अस्पतालको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेर सोही ठाउँमा नगर अस्पताल सञ्चालन गरिएको हो।
चारवटा भवन, क्यान्टिन, सौचालय लगायतका भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिनुभयो।  जालपामा सञ्चालित स्वास्थ्य चौकीको सेवासमेत सोही नगर अस्पतालबाट प्रवाह गर्नेगरी एकीकृत गरिएको जनाइएको छ।
जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समिति जालपाले नगरपालिकालाई  तीन करोड ५० लाख बढीको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेपछि बुधबार नगर अस्पताल बनाएर उद्घाटन गरिएको छ। आगामी दिनमा १५ शय्यामा स्तरोन्नति गरिने बताइएको छ ।
नगर अस्पतालको उद्घाटन पूर्व सांसद एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, नगर प्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले संयुक्तरूपमा पानसमा बत्ती बालेर तथा ब्यानर खोलेर गरेका छन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले स्थानीय तहका जनप्रतिनिधिले जनताको दैनिक जीवनसँग जोडिने किसिमका योजना बनाएर जनताको समस्या समाधान गर्नेतर्फ हुनुपर्ने बताउनुभयो।
जालपामा स्थापना गरिएको नगर अस्पतालमा दिक्तेल रुपाकेट मझुवागढी नगरपालिकासँगै केपिलासगढी, रावाबेँसी र ऐसेलुखर्क गाउँपालिकाका स्थानीय बासिन्दाले सेवा लिन पाउने छन् । तत्कालका लागि पाँच शय्यामा सञ्चालन गरिएको अस्पताललाई क्रमशः स्तरोन्नति गर्दैनगर अस्पतालमा बहिरङ सेवा, भिडियो एक्स–रे, ल्याव परीक्षण, प्रसुति सेवा लगायत अन्य सरकारी अस्पतालमा प्रदान गर्ने सम्पूर्ण सेवा उपलब्ध हुने            नगर प्रमुख भट्टराईले बताउनुभयो।  यसले स्थानीय बासिन्दालाई सहज हुने अपेक्षा गरिएको समेत बताउनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी कार्कीले नगर अस्पतालले चाहेको खण्डमा प्रशासनको तर्फबाट चौबीसै घण्टा शान्तिसुरक्षा उपलब्ध गराउन सकिने बताउनुभयो।
कार्यक्रममा नगर अस्पताल स्थापनाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जनसेवा सामुदायिक अस्पताल जालपाबीच भएको दुई पक्षीय सम्झौतापत्र आदानप्रदानसमेत गरिएको छ। सम्झौतापत्रमा नगर प्रमुख भट्टराई र सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेका छन्।

नगर अस्पताल उद्घाटन कार्यक्रमको अवसरमा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो। नगरपालिका र करुणा फाउण्डेशन नेपालले संयुक्तरुपमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १२४ जनाले सेवा लिएको नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिनुभयो।