शहिद दिलकाजी कार्की तथा  इन्दिरा कार्कीको स्मृतिको अवसरमा विरामीहरुलाई  फलफूल वितरण

खोटाङ । खोटाङमा शहीद दिलकाजी–इन्दिरा कार्की दम्पत्तिको २३ औँ स्मृति दिवस विभिन्न कार्यक्रमगरी मनाइएको छ ।

शहिद दिलकाजी कार्की तथा उहाँकी धर्मपत्नि इन्दिरा कार्कीको स्मृतिको अवसरमा विरामीहरुको स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरिएको छ । ठूलकुमार दिलकाजी स्मृति प्रतिष्ठान खोटाङको आयोजनामा शहिद दिलकाजी कार्की दम्पतिको २३ औँ स्मृति दिवस मनाउदै आषाढ ३१ गते जिल्ला अस्पतालमा उपचाररतः विरामीहरुको स्वास्थ्य कामना सहित फलफूल वितरण गरिएको हो ।

स्मृति दिवसको अवसरमा शहीद कार्की दम्पत्तिको तस्वीरमा माल्यार्यणसहित श्रद्धाञ्जलि अर्पण गरिएको थियो । शहीद दिलकाजीको दाजु रामकाजी र भतिज ध्रुवकुमार कार्कीको समेत उपस्थितिमा आयोजित २३ औँ स्मृति दिवसमा नेकपा (माओवादी केन्द्र) खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, माओवादी केन्द्रका भातृ सङ्घ/सङ्गठनका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो ।

माओवादीले जनयुद्ध सञ्चालन गरिरहेको अवस्थामा विसं २०५९ असार ३१ गते तत्कालीन शाही नेपाली सेनाको गस्ती टोलीको गोली लागेर कार्की दम्पतीको मृत्यु भएको थियो ।
शहीद दिलकाजी र अर्का शहीद ठूलकुमार श्रेष्ठको नाममा खोटाङमा ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान नेपाल’ गठन गरिएको छ भने खोटाङका ७२ जना जनयुद्धका शहीदको सम्झनामा दिक्तेलस्थित मुडेमा शहीद पार्क निर्माण भैरहेको छ ।