बुवाँखोलामा १७ करोडको लागतमा पक्की पुल निर्माण हुँदै

 

खोटाङ / खोटाङको जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा सवारी साधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण हुने भएको छ ।

मूल्य अभिवृद्धि कर सहित १७ करोड ५८ लाख ७९ हजार ७ सय २९ को लागतमा निर्माण हुने पुलको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बिहीबार शिलान्यास गरेको हो । १४८ मिटर लम्बाई भएको बन्ने पुल अहिले सम्मकै प्रदेश सरकारले बनाउँदै गरेको लामो पुल हो ।

निर्माण कम्पनीले २०८३ कात्तिक २१ गतेसम्ममा सक्ने गरी २०८१ वैशाख ३० गते पुलको ठेक्का सम्झौता गरेको थियो। प्रादेशिक सडक पुल सहयोग एकाइ, इटहरीको प्राविधिक सहयोगमा कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय उदयपुरमार्फत बुवाँखोलामा पुल निर्माणको काम अघि बढाइएको जन्तेढुंगा गाउँपालिकाकी प्रमुख अरुणादेवी राई जानकारी दिइन्।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल–खोटाङ बजार हुँदै दक्षिणी क्षेत्र जोड्ने चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा सडकमा पर्ने बुँवाखोलामा पुल नहुँदा वर्षायाममा आवागमन ठप्प हुने गरेको छ ।

चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा ग्रामीण सडक समीप बग्ने बुवाँखोलामा १ सय ४८ मिटर लामो पुल निर्माण हुने भए पछि स्थानीय हर्षित भएका छन् ।