निर्विकारको ‘आँशु झरेकै राम्रो’ लोकार्पण

मंसिर १६ आइतवार, २०७५
खोटाङ । खोटाङका कवि तथा गीतकार नरेन्द्र निर्विकारको गीति संग्रह सार्वजनिक गरिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका कवि तथा गीतकार निर्विकारको गीति संग्रह ‘आँशु झरेकै राम्रो’ बजारमा आएको हो । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा शनिबार आयोजित कार्यक्रममा गीतकार संघ नेपाल अध्यक्ष चूडामणि देवकोटा, १ नम्बर प्रदेशका सांसद रामकुमार राई, साहित्यकार जसराज किराती, कवि भूपाल राई लगायतले गीति संग्रह लोकार्पण गरेका हुन् ।

रावाँसावा प्राज्ञिक समाज नेपालको आयोजनामा गीति संग्रह लोकार्पण गरिएको हो । स्वदेश प्रकाशन प्रालि बागबजारले प्रकाशन गरेको निर्विकारका गीति संग्रहमा १०१ वटा गीत समाबेश छन् । गीति संग्रहमाथि डा. विष्णु राई र सुरेश हाचेकालीले समिक्षा गरेका थिए । निर्विकार धिप्लुङ मावि सेम्मामा प्रअका रुपमा कार्यरत छन् ।

कवि तथा गीतकार निर्विकारका यसअघि २०६८ सालमा गजल संग्रह ‘फूल झरेपछि’ र २०६० सालमा कविता संग्रह ‘पानीको कुनै रंग हुँदैन’ प्रकाशित छन् । उनले २०६७ सालमा गोपालचन्द्र राईसँगको सहकार्यमा गीति एल्बम ‘सहकार्य’ पनि बजारमा ल्याएका थिए ।