खोटाङमा आगलागी हुँदा ७ करोड बढिको क्षति

 खोटाङ/ खोटाङको हलेसी तुवाचुङ नगरपालिका –७ महादेवस्थानमा आगलागी हुँदा  ७ करोड बढिको  क्षति भएको छ ।

आईतवार  साँझ ७ बजे स्थानीय पदमशेर राईको काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा रहेको हार्डवयर पसलमा राखिएको खाना पकाउने ग्यास लिंक हुँदा आगलागी भएको थियो।

आगलागीबाट पदमशेरकै पूर्णरुपमा जलेर नष्ट भएको घरको दोश्रो तलामा निर्धनउत्थान लघुवित्त संस्थाको कार्यालय समेत रहेको थियो । आगलागीबाट पदमशेरको घर पुर्णरुपमा जल्दा चार करोडको क्षति भएको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका वडा अध्यक्ष कमल गिरिले बताए ।

पदमशेरको बायाँ साइडमा रहेको आइरख राईको न्यु कल्याण होटल सञ्चालन भईरहेको चारतले पक्की घर र पछाडीसँगै रहेको निजकै काठको दुईतले घरमा पुर्ण रुपमा क्षति हुँदा दुई करोड ५० लाख, दाहिने साइडमा रहेको प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामे ट्रसले बनेको एकतले भान्सा घर र पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख र भिरणशेर राईको पारुहाङ होटलको चारतले पक्की घरको दोश्रो र तेश्रो तलामा आंशिक क्षति हुँदा ५० लाख गरि अनुमानित ७ करोड  ३० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले   जनाएको छ ।

आगोलाई स्थानीय, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रहरी,  नेपाल प्रहरी,  शसस्त्र प्रहरी नेपाली सेनाले जेसिभी, ट्याक्टर, ट्याङकरको सहायताबाट  राती १ बजे पूर्णरुमा नियन्त्रणमा लिएको थियो। आगलागीबाट अन्य मानवीय र पशु चौपायामा भने क्षति नभएको स्थानीयको भनाई छ ।