खुला हाफ म्याराथन–२०८२ को उपाधि नेपाली सेनालाई

 खोटाङ / ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत खुला महिला/पुरुष हाफ म्याराथनको उपाधि नेपाली सेनाले जितेको छ।

म्याराथनको उपाधि नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपाने र सञ्जय श्रेष्ठले जित्नुभएको हो । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको महोत्सवको पहिलो दिन आज शनिबार सम्पन्न २१ किलोमिटर लामो हाफ म्याराथनअन्तरगत महिलातर्फ न्यौपानेले एक घण्टा २७ मिनेट १६ सेकेण्ड तथा पुरुषतर्फ श्रेष्ठले एक घण्टा आठ मिनेट १४ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि जित्नुभएको हो ।

महिलातर्फको हाफ म्याराथनमा नेपाली सेनाकै निर्मला केसीले एक घण्टा २७ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै दोस्रो तथा निशा सार्कीले एक घण्टा २७ मिनेट ४९ सेकेण्डमा दूरी पार गर्दै तेस्रो हुनुभएको छ । यस्तै, पाँचथरकी पुष्पा शोर्पाले एक घण्टा ३७ मिनेट ४६ सेकेण्डमा दूरी पार गर्दै चौथो, खोटाङकी दीपा बस्नेतले एक घण्टा ४७ मिनेट १३ सेकेण्डमा दूरी पार गर्दै पाँचौँ, भोजपुरकी रुष्मा राईले एक घण्टा ५० मिनेट २७ सेकेण्डमा दूरी पार गर्दै छैटौँ, रणभीम गण मुडे ब्यारेकका अमिसा राईले एक घण्टा ५४ मिनेट ३३ सेकेण्डमा दूरी पार गर्दै सातौँ  हुनुभएको छ ।

पुरुष तर्फको हाफ म्याराथनमा पनि नेपाली सेनाकै नरेन्द्रसिं रावतले एक घण्टा नौँ मिनेट २० सेकेण्डमा दूरी पार गर्दै दोस्रो तथा सुशिल शाहीले एक घण्टा नौँ मिनेट ४६ सेकेण्डमा दूरी पार गर्दै तेस्रो हुनुभएको छ । नेपाल प्रहरीका अजितकुमार यादवले एक घण्टा ११ मिनेट २३ सेकेण्डमा दूरी पार गर्दै चौथो, तेह्रथुमका सरोज लिम्बूले एक घण्टा १२ मिनेट २४ सेकेण्डमा दूरी पार गर्दै पाँचौँ, नेपाली सेनाका रामजी बस्नेतले एक घण्टा १२ मिनेट ३५ सेकेण्डमा दूरी पार गर्दै छैटौँ, नेपाली सेनाकै कर्णबहादुर रोकामगरले एक घण्टा १२ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै सातौँ  हुनुभएको छ ।

खुला महिला/पुरुष हाफ म्याराथनमा प्रथम, द्धितीय, तृतीय, चौथो, पाँचौ, छैटौ र सातौँ हुनेलाई क्रमशः रु ७७ हजार ७७७, रु ५५ हजार ५५५, रु २५ हजार ५५५, रु १५ हजार ५५५, रु ११ हजार १११, रु सात हजार ७७७ र रु पाँच हजार ५५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

 विजयीहरुलाई कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो।

महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला/पुरुष हाफ म्याराथनसहित खुला दौड, खुला महिला/पुरुष टेबलटेनिस, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ ।

खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो ।