पौडी खेल्ने क्रममा खोटाङमा एक किशोर बेपत्ता 

खोटाङ/ पौडी खेल्ने क्रममा खोटाङका एक किशोर बेपत्ता भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षका सविन राई पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा बेपत्ता भएका हुन् ।

 शनिबार बिहान करिब ११ बजेको समयमा डिकुवा ओख्लाङका बिन्द्र केशर राईका छोरा सविन राईलाई सुनकोशीले बगाएको हो । स्थानीयहरुले खोजी कार्य जारी राखेपनि हालसम्म फेला नपरेको डिकुवाका वडाध्यक्ष देबेन्द्र राईले बताउनुभयो । हाल च्यास्मिटार प्रहरी चौकीबाट प्रहरीहरु घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

 सुनकोशी किनारको बाटोहुँदै गएका दुवै जना तुइम्बु बादरेखोप भन्ने ठाउँमा पौडी खेल्न कोशीमा पसेको पाइएको वडाध्यक्ष राईले बताउनुभयो । धामी लिन भनेर ओख्लाङबाट सविन र उनका साथी १५ वर्षका सागर राई डिकुवा गएका थिए ।गर्मी भयो भन्दै कोशीमा पौडी खेल्न पसेका सविन राईलाई भने कोशीले बगाएको हो ।