खोटाङको सावा खोलामा मोटरेबल पुल उद्घाटन

खोटाङ/ खोटाङको खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिका जोड्ने सावा खेलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।

खोटेहाङ गाउँपालिका–७ खोटाङबजार मझौ र जन्तेढुगा गाउँपालिका–५ चिसापानी छयालिसको सिमानामा रहेको सावा खोलामा ४१.४० मिटर लम्बाई भएको पुल निर्माण सम्पन्न पश्चात शनिबार उद्घाटन गरिएको हो । सावा खेलामा यस अघि झोलुङ्गे पुलको भरमा वारपार गर्नु पर्ने बाध्यता रहेको थियो । मोटरेबल पुल निर्माण सम्पन्न भएपछी  यात्रुलाई सहज भएको छ ।

प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको सशर्त बजेटबाट निर्माण गरिएको प्रि–स्ट्रेष्ड आरसिसि पुल कोशी प्रदेशका भौतिक पुर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले उद्घाटन गरेका हुन् ।

सुसम–आदित्य–बिजय निर्माण सेवा उदयपुरले मुल्यअभिबृद्धि कर तथा पिएस सहित ८ करोड २१ लाख ७२ हजार ८९४ मा पुल निर्माणको काम सम्पन्न गरेको हो ।

२०८२ बैसाख १० गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी २०८० वैशाख ११ गते पुलको सम्झौता गरिएको थियो  । खोटाङबजार–चिसापानी सडक खण्डमा पर्ने  पुल प्रादेसिक सडक पुल सहयोग एकाई, इटहरीको प्राविधिक सहयोगमा निर्माण गरिएको हो ।

पक्की पुल बनेपछि खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका स्थानीय लाभान्वित भएका छन् । पुल उद्घाटन कार्यक्रममा बराहपोखरी गाउँपालिका अध्यक्ष शलिकराम बन्जारा, खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राई, जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेबी राई, खोटेहाङ गाउँपालिका उपाध्यक्ष रुपेश राई, जन्तेढुंगा गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्का अन्य जनप्रतिनिधि , राजनीतिक दलका प्रतिनिधि  लगायतको उपस्थिति रहेको थियो ।