दिक्तेल रुपाकोट मझुवागढी पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा 

खोटाङ /  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा भएको छ । नगरपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका ७६९ जना बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्ष उमेर समूहका दुई हजार १०१ जना बालबालिकाले पूर्णखोप लगाएको पाइएपछि बुधबार नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको हो ।

नगरपालिकाको सभाहलमा आयोजित पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणासभामा जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेशकुमार तामाङले नियमित खोप लगाउने वडा नं. १० पाथेकाका जेनिस विश्वकर्मालाई पूर्णखोप लगाएको खोपकार्ड तथा सम्मानपत्र प्रदान गर्दै कार्यक्रमलाई औपचारिकरुपमा उद्घाटन गर्नुभएको थियो । नगर खोप समन्वय समितिका अध्यक्ष एवम् नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख तामाङले नगरपालिकाभित्रका १५ वटै वडा कार्यालयलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्रसमेत प्रदान गर्नुभएको छ ।

पूर्णखोप सुनिश्चितता घोषणासभामा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, स्वास्थ्यकर्मी लगायतले दिगोपनाका लागि तयार पारिएको प्रतिवद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् । पूर्णखोप सुनिश्चितता लागि सर्वेक्षण गर्दा विभिन्न वडाका पाँचजना बालबालिकाले शुरुमा खोप लगाएपनि बीचमा छुटाएको पाइएकाले उनीहरुलाई पनि छुटेका सबै खोप उपलब्ध गराइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिए  ।

पन्ध्र वडा रहेको नगरपालिकामा ४५ वटा खोप केन्द्र निर्धारण गरेर नियमित खोप उपलब्ध गराउने गरिएको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा रावाबेँसी र जन्तेढुङ्गा गाउँपालिका यसअघि नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित भइसकेका छन् । यही जेठ–१६ गते दिप्रुङ चुइचुम्मा र जेठ–२६ खोटेहाङ गाउँपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणासभा राखिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।

 नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

आगामी असार–१५ गतेभित्र जिल्लालाई  पूर्णखोप सुनिश्चितता तथा दिगोपना  घोषणा गर्ने तयारी गरिएको जिल्ला खोप समन्वय समिति खोटाङका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए  ।