हलेसीमा कोदोको बिस्कुट उत्पादन समन्धी तालिम सम्पन्न

खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले  कोदोको बिस्कुट उत्पादन, ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’ सम्बन्धी तालिम सम्पन्न गरेको छ ।

रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर ७ दिने सीप बिकाश तालिम शुक्रबार  सम्पन्न गरेको  हो ।

‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित १२ जना विद्यार्थीसहित महिला उद्यमीको सहभागिता रहेको तालिममा सहभागी प्रशिक्षार्थीले उत्पादन गरेका कोदोको बिस्कुट, कुकिज, निम्की, पाउरोटी र दुनोट प्याकेजिङ गरेर समापन कार्यक्रममा प्रदर्शनसमेत गरिएको थियो ।

तालिममा सहभागीले व्यावसायिक रुपमा उत्पादन गरेका कोदोका परिकार नगरपालिकाको तर्फबाट खरिद गर्ने र खरिद गरिएको परिकार कोसेली घरमा राखेर उपहार स्वरुप पाहुनालाई वितरण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।