खोटाङमा माईक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु १७ जना घाइते

खोटाङ / खोटाङमा माईक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु  भएको छ । सिराहा नराह गाउँपालिका -५ बस्ने मनोज यादवको श्रीमति ३० वर्षीया  ममतादेवी यादवको कटारी अस्पताल उदयपुरमा पुर्‍याएपछि मृत्यु भएको हो।

प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माईक्रोबस मध्यपहाडी लोकमार्ग अन्तरगत जयराम–हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै  (सोमबार) बिहान  नौँ बजे दुर्घटना भएको हो ।

हलेसी दर्शन गरेर फर्केका यात्रु लिएर सिराहातर्फ जाँदै गरेको माईक्रोबस दुर्घटना हुँदा  बसमा सवार १७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सिराहा नराह गाउँपालिका -५ बस्ने ४० वर्षीय राजु यादव, रामशरण ठाकुरको श्रीमती तत्काल नाम नखुलेको, ३२ वर्षीय सविता कुमारी यादव, ४० वर्षीय मिथिला कुमारी यादव, धनुषा जिल्ला सबेला नगरपालिका- ४ बस्ने ७९ वर्षीय दुर्योधन यादव, सिराहा नराहा नगरपालिका- ५ बलुवाका  ३० वर्षीय पुनम यादव, सोही ठाउँका ३२ वर्षकी लक्ष्मी शर्मा, ५७ वर्षीय धनेश्वर यादव र झालुदेवी यादवलाई थप उपचारको लागि काठमाडौंस्थित ट्रमा सेण्टरमा रेफर गरिएको छ ।

सिराह नरहा -५ बलुवा बस्ने ३९ वर्षीय रञ्जित यादव, सिराह गोलबजार नगरपालिका- ६ बस्ने ३७ वर्षीया शिला शर्मा,  सिराह औरही गाउँपालिका- २ बस्ने मिना कुमारी शर्मा, सिराहा नराहा- ५ का  दिपेन्द्र यादव, १० वर्षीय शिबम शर्मा, ७० वर्षीया कुस्मवती यादव भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

चालक सिराहा नगरपालिका-३ सारसोर बस्ने २८ वर्षीय रामनाथ साह फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ।  दुर्घटनाको कारण खुल्न बाँकी रहेको र विवरण सङ्कलनको काम भइरहेको छ ।