लडेर मृत भेटिएका छोरम्बुका  दिदिभाईको चिहान प्रहरी नियन्त्रणमा 

खोटाङ/  खोटाङमा मृत फेला परेका दिदीभाईको चिहानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कानुनी प्रकृया पुरा नगरी शव गाडिएको भन्दै प्रहरीले शनिबार  चिहानलाई नियन्त्रणमा लिएको हो ।

मृत फेला परेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका एकै परिवारका  ११ वर्षीय मेनिषा बस्नेत र ६ वर्षका मेगराज बस्नेतको शव गाडिएको स्थानलाई प्रहरीले सुरक्षित राखेको हो ।

 साउन २२ गते बस्नेत दिदीभाई सहित ६ जना बालबालिका घरमा जानकारी नदिइ वेपत्ता भएका थिए । पौडी खेल्न साप्सुखोला पुगेको जानकारी पाइएपछि खोज्नेक्रममा राती १२ बजे दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडाडाउँको चेपाभिरबाट करिब एक हजार मिटर तल खरुवा खोलामा खसेर पानीमा डुबेर मृत्यु भएको अवस्थामा दिदीभाईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।बस्नेत दिदीभाईसँगै हराएका अन्य चार बालबालिका भने सशुकल भेटिएका छन् ।

लडेर मृत्यु भएको यकिन भएको दावी सहित शवलाई साउन २३ गते दुई वटा खाल्डो खनि गाडिएको थियो । तर प्रहरीलाई जानकारी नदिइ चुपचाप गाडिएको खबर पुगेपछि साउन २४ गते प्रहरीचौकी दिप्रुङ चुइचुम्माले सो स्थानमा पुगेर कानुनी प्रकृया थालेको हो । थप अनुसन्धान र कानुनी प्रकृया पुरा गर्नका लागि इलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।