अग्नि पिडित तामाङ परिवारलाई आर्थिक सहयोग रकम हस्तान्तरण 

खोटाङ/  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका अग्नी पीडित  तामाङको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । अग्नी पीडित जितबहादुर तामाङको परिवारलाई सात लाख ७५ हजार ५७७ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

आगलागीपछि नुनथलाका स्थानीय एवंम् वडा सदस्य तारादेबी तामाङको संयोजकत्वमा साउन १९ गते स्वेच्छिक रुपमा गठन गरिएको १५ सदस्यमार्फत संकलन भएको राहत बुधबार पीडित परिवारलाई घरमै पुगेर हस्तान्तरण गरिएको हो ।

गाउँ समाजबाट संकलन भएको दुई लाख २८ हजार ८३५ र साविक नुनथला–९ कै स्थानीय एवम् अगुवा युवा सुन्दर तामाङको व्यक्तिगत बैंक खातामा देश–विदेशमा रहेका आफन्त तथा शुभेच्छुबाट जम्मा भएको पाँच लाख ४१ हजार ७४२ रुपैयाँसहित सात लाख ७५ हजार ५७७ रुपैयाँ राहत हस्तान्तरण गरिएको राहत संकलन समितिका सदस्य एवंम् शिक्षक धनकुमार पाख्रिनले बताए ।

 संकलन भएको रकम वडाध्यक्ष भगेश्वर राई र देश–विदेशमा रहेका आफन्त तथा शुभेच्छुकहरुले बैंक खातामा जम्मा गरिदिएको राहत रकम अगुवा युवा सुन्दर तामाङले पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् ।

अग्नी पीडित परिवारलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले दश हजार, साविक नुनथला–८ गैरीले १५ हजार ३८० रुपैयाँ, महिला तथा युवा समूह मुडेबाट २० हजार, किरात राई चाम्लिङ रिङालुङछाबाट ४२ हजार ४६० रुपैयाँ, किरात राई चाम्लिङ राखुमीहँछाबाट ५८ हजार ५६ रुपैयाँ, दम्कु–गोपिनी–भरङगेबाट नौ हजार १५० रुपैयाँ, धरान तरहराबाट ६७ हजार ७५० रुपैयाँ, रुपाकोट तामाङ सेवा समाजबाट १५ हजार लगायत अन्य व्यक्तिहरुबाट ६० हजार ९५१ रुपैयाँ राहत जुटेकोे थियो।

आगलागीबाट घर जलेपछि तामाङ श्रीमतीसँग भुकम्प प्राधिकरणले बनाईदिएको छोराको घरको एक कोठामा बस्दै आएका छन्।

गत साउन १८ गते साँझ ६ बजे घरभित्र रहेको चुलोबाट अचानक आगो सल्किदा तामाङको घरसहित सम्पूर्ण धनमाल जल्दा करीव १३ लाखको क्षति भएको थियो।