खोटाङमा १२ बर्षिय वालिका मृत्यु प्रकरण– बलात्कारपछि हत्या भएको भन्दै प्रहरीमा जाहेरी

खोटाङ / खोटाङमा एक वालिकाको मृत्यु प्रकरणलाई आफन्तले बलात्कारपछि हत्या भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । साउन २९ गते साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–३ बाम्राङस्थित रामकुमार हिङ्माङको घरमा बस्ने तेज बहादुर अछामीको छोरी १२ वर्षीया तारा अछामी झुण्डिएर मृत अवस्थामा भेटिएकी थिइन् ।

 त्यसपछि ताराका बुबाले छोरीले झुण्डिएर आत्माहत्या गरेको नभइ बलात्कारपछि हत्या भएको आशंकामा घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–१० अर्खौले घर भएकी तारा बाम्राङस्थित हिङ्माङको घरमा आफ्नै सुत्ने कोठाको काठको बलोमा सुत्रीडोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

मृतक ताराको शरिर अर्धनग्न र योनीबाट रगतसमेत बगेको भन्दै आफन्तले घटनाको छानविन र दोषी पत्ता लगाइ कानुनी कारवाहीको माग गरेका हुन् । शनिबार नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै मृतक वालिकाका आफन्तले घटनाका विषयमा सत्य, तथ्य बाहिर ल्याइदिन र न्यायका लागि लडिदिन आग्रह गरेका थिए।

मृतक वालिका हिङ्माङको घरमा एक महिनादेखि काम सघाउने गरि बसेको र बाम्राङस्थित शितला माविमा कक्षा–४ मा अध्ययनरत रहेको पाइएको छ । मृतक ताराकी आमा सरिता अछामी सार्की १० वर्षीय एक छोरासँग हिङ्माङको घरदेखि ५ मिटर पर डेरा गरि बस्दै आएकी थिइन् भने बुबा रोजगारीका लागि काठमाडौं बस्दै आएका थिए ।

मृतकका बुबाले घटनाको अनुसन्धान गरिदिन भन्दै जाहेरी दर्ता गराएको र घटनाका  विषयमा अनुसन्धान भइहरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक विष्टले जानकारी दिनुभयो । घटना शंकास्पद भएको भन्दै ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएको उहाँको भनाई छ । परिवार र आफन्तलाई शव हेर्न नदिएको भन्ने उहाँहरुको आरोप मात्र भएको र प्रकृया अनुसार प्रहरीले शव सुरक्षित गरि मुचुल्का गरेको उहाँले बताउनुभयो । आज विहान मात्र मृतकको शव पोष्टमार्टम भएकोले त्यसको रिपोर्ट आइनसकेको र रिपोर्ट आएपछि थप अनुसन्धानको प्रकृया अघि बढ्ने विष्टको भनाई छ ।

घटनाका विषयमा आफूलाई केही पनि थाहा नभएको र आफू घर पुग्दा प्रहरीले शव पोको पारेर मुचुल्का गरिसकेको महासचिव हिङ्माङले बताउनुभएको छ । आफू घरमा प्रायः नजाने भएकोले बालिकालाई घरमा किन राखियो मलाई सोधेर श्रीमति र छोराछोरीले राखेका पनि होइनन् । म प्रायः दिक्तेलमा बस्ने भएकाले घटनाका विषयमा जानकार नरहेको उहाँले बताउनुभयो । गहिरो अनुसन्धान गर्न आफूले पनि माग गरेको र यदि कोही कसैले घटना घटाएको भए अपराधिले उन्मुक्ति पाउन नहुने उहाँको भनाई छ ।

मृतक ताराको शव भदौ १ गते आज पोष्टर्माटमपछि दाहासंस्कार गर्न बसमार्फत आफन्तले अर्खौले लगेका छन् ।